काठमाडौँ- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पोखरा) र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ)मा एमबीबीएस अध्ययन सुरु गर्ने बाटो खुलेको छ। दुवै प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
अर्थ मन्त्रालयले दुवै प्रतिष्ठान चलाउनका लागि चाहिने बजेट व्यवस्था गर्न सकिने भन्दै हालै स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको छ।
साउन २७ गते आफ्नो प्राथमिकता तथा योजना सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दुवै प्रतिष्ठानमा यसै वर्ष चिकित्सा शिक्षा शुरु गर्ने घोषणा गरेका थिए। मन्त्रालयले ५ करोड विनियोजन गरे पनि थप स्रोत सुनिश्चित नहुँदा पढाइ सुरु गर्ने विषयमा अन्योल बढेको थियो।
‘स्वास्थ्यले अर्थसँग समन्वय गरे पछि हालै रकम सुनिश्चित बनेको हो। दुवै प्रतिष्ठानले ५ वर्षअघि पूर्वाधार विकास गरेर बसेका थिए। बजेट नआउँदा अघि बढ्न सकेको थिएन,’ स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘नयाँ मन्त्रीज्यु आएपछि कार्यक्रम यसपाली बजेट सुनिश्चित भएको छ। अब कामकारबाही अघि बढ्छ।’
अब चिकित्सा शिक्षा आयोगले पूर्वाधारका आधारमा दुवै प्रतिष्ठानका लागि एमबीबीएस पठनपाठनका लागि सिट निर्धारण गर्नेछ। ७५ प्रतिशत विद्यार्थीले सरकारी छात्रवृत्ति प्राप्त गर्नेछन्। सोही आधारमा पठनपाठन अघि बढाउने गरी मन्त्रालयले तयारी थालेको छ। यसले विपन्न, जेहेन्दार तथा आरक्षण प्राप्त विद्यार्थीले छात्रृत्तिमा एमबीबीएस अध्ययन गर्न बजेट सुनिश्चित गरेको छ।
‘देशमा चिकित्सक अभाव रोक्न दक्ष जनशक्ति उत्पादन बढाउने हाम्रो लक्ष्य हो,’ मन्त्री पौडेलले भने, ‘प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययनसँगै थप चिकित्सक अध्ययन गर्ने मार्ग खोल्न हामी लाग्नेछौं।’
मन्त्री पौडेलको प्राथमिकता तथा योजनामा एक सय बेडभन्दा माथिका सरकारी अस्पतालमा नर्सिङ र ३ सय बेडभन्दा माथिका सरकारी अस्पतालमा स्नातक र स्नातकोत्तर तहका विषय अध्यापन गर्न विगतमा भएका अध्ययन पुनरावलोकन गरी चिकित्सा शिक्षा आयोगको परामर्शका आधारमा कार्यान्वयन गरिने पनि उल्लेख छ।
यसअनुसार आवश्यक तयारीका लागि मन्त्रालयले काम अघि बढाएको जनाएको छ।


