काठमाडौँ– ग्लोबल आईएमई बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार सम्हालेका छन्।
पदभार सम्हाल्नुअघि सीईओ रेग्मीले बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनियताको शपथ लिएका थिए। उनीसँग बैंकिङ क्षेत्रमा तीन दशकभन्दा लामो समय काम गरेको अनुभव छ।
राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ करिअर सुरु गरेका रेग्मी २०६५ वैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आईएमई बैंकमा प्रवेश गरेका थिए।
ग्लोबल आईएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ सुपरिवेक्षण तहमा रहेर उनले काम गरेका थिए।
रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन्।
पदभार ग्रहण कार्यक्रममा ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले लामो समय बैंकिङ क्षेत्रमा रही काम गरेका रेग्मीको कार्यकालमा बैंक थप सबल र सृदृढ हुने विश्वास व्यक्त गरे।
पदभार सम्हाल्दै रेग्मीले मुलुककै सबैभन्दा ठूलो र प्रतिष्ठित बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिँदा गर्व र दायित्वबोध दुवै महसुस भएको बताए।


