हेटौँडा- मकवानपुरको मनहरिमा भैँसीको आक्रमणले बाघको मृत्यु भएको छ। बिहीबार बिहान सवा ३ बजे मकवानपुरको मनहरी गाउँपालिका-६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत अवस्थामा भेटिएपछि सो घटनाबारे सोधखोज सुरु भएको थियो। राईको गोठमा भैंसीलाई आक्रमण गर्दा बाघ आफै आक्रमणमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
राईको गोठमा भैँसी घाइते फेला परेको थियो भने बाघ मृत अवस्थामा भेटिएको थियो। बाघ बूढो भएको कारण भैंसीको आक्रमणबाट मृत्यु भएको देखिएको प्रहरीको भनाई छ ।
बाघ बुढो र कमजोर भएपछि अरु बाघसँग प्रतिष्पर्धा गर्न नसकेपछि बस्ती पसेको हुन सक्ने चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। मृत्यु भएको बाघलाई पोष्टमर्टमका लागि चितवन राष्ट्रिय निकुञ्जको टोलीले लगेको छ।


