काठमाडौं- सरकारले हालै मात्र यसअघि प्रतिबन्ध गरिएको सामाजिक सञ्जालको एप टिकटक फुकुवाको निर्णय गरेपछि यसका कारणबारे अनेक मतअभिमत सतहमा आइरहेका छन्। यही फेरोमा व्यवसायी, कवि तथा गीतकार बसन्त चौधरीले सामाजिक सञ्जाल एक्समा आफ्नो धारणा सार्वजनिक गरेका छन्।
व्यवसायी चौधरीले टिकटक फुकुवा अनुक्रम नेपालको जटिल भूराजनीतिक सम्बन्धलाई सन्तुलनमा राख्नको लागि गरिएको रणनीतिको हिस्सा हुनसक्ने समेत बताएका छन्। एक्समा उनले लेखेका छन्ः
गत वर्ष नेपाल सरकारले टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय गर्दा राष्ट्रिय कानून उल्लङ्घनको आरोप खेप्यो। अभिव्यक्ति स्वतन्त्रतालाई केन्द्रमा राखेर सो निर्णयले व्यापक बहस उत्पन्न गराएको थियो। साँच्चै, टिकटिक प्रतिबन्ध कानुनी, सामाजिक वा राजनीतिक कुन आधारमा गरिएको थियो भन्ने विषयमा विभाजित विचारहरू सतहमा आएका थिए। र, आइरहेका पनि छन्।
हरेक विषयमा राजनीति देख्ने केही राजनितिक गुरुहरुको दृष्टिबाट हेर्ने हो भने, यो निर्णय हाम्रो छिमेकी मूलुक भारतलाई खुशी पार्नको लागि गरिएको थियो, किनकि टिकटक चिनियाँ उत्पादन हो। यद्यपि, यस दाबीलाई समर्थन गर्ने कुनै ठोस प्रमाण छैन।
टिकटकले नेपालको सामाजिक संजालका लागि तोकेको नियमको पालना गर्न सहमति जनाएको भन्दै वर्तमान सरकारले टिकटक माथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ। तर यो सकल परिघटनाका वृत्तमा भने केही महत्वपूर्ण र गम्भिर प्रश्नहरु भने छन्।
–के प्रारम्भिक प्रतिबन्ध वास्तवमै कानुनी रूपमा जायज थियो?
–के टिकटकको अत्यधिक प्रयोग र यसको विवादास्पद सामग्रीहरूले सामाजिक मूल्य मान्यतालाई विथोली राखेको थियो?
–के यो निर्णय नेपालको भारत र चीनसँगको सम्बन्धको सन्दर्भमा राजनीतिक भावले प्रेरित थियो?
समाजको एक वर्ग टिकटकमा पस्किने सामग्रीबाट असन्तुष्ट छ। यसले टिकटकलाई समाजिक मूल्य मान्यताहरूविरुद्धको प्रहारको रूपमा लिन्छ। यही वर्गको सामाजिक दवावले पनि सरकारको अघिल्लो निर्णयमा प्रभाव पारेको हुनसक्छ। यद्यपि, प्रतिबन्ध हटाउने हटाथको निर्णयको पछाडी अन्य कारकतत्वहरू हुनसक्ने सङ्केत पनि त्यत्तिकै छन्।
यो विषयलाई राजनीतिक चस्माबाट हेर्ने हो भने यहाँ केही गम्भिर प्रश्न खडा हुन्छ। के टिकटक माथी लगाइएको प्रतिबन्ध र तत्पश्चात प्रतिबन्ध हटाउने निर्णय वस्तुपरक थियो? के तिनीहरू राष्ट्रको हितमा थिए, वा बाह्य दबाबहरूले प्रभावित गरेका थिए?
यत्ति चाहिँ के भन्न सकिन्छ भने– टिकटक फुकुवा अनुक्रम नेपालको जटिल भूराजनीतिक सम्बन्धलाई सन्तुलनमा राख्नको लागि गरिएको रणनीतिको हिस्सा हुनसक्छ। किनभने, चीन र भारत दुवै बलिया खेलाडी भएको मैदानमा, हाम्रो जस्तो सानो मूलुकले गर्ने हरेक निर्णयले ठूलो राजनीतिक अर्थ राख्ने गर्दछ। यस्ता कुनैपनि निर्णयहरू पछाडि रहेका मूल कारणलाई गहिरो विश्लेषण गर्न आवश्यक हुन्छ। खोजिएका सबै प्रश्नहरूको उत्तर स्पष्ट नहुन सक्छ, तर तिनीहरूलाई बुझ्न खोज्नु जरूरी छ। यस्ता आम मानिसको चासोको विषयमा गरिएको निर्णय प्रक्रियाको पारदर्शिता र उत्तरदायित्व महत्वपूर्ण हुन्छ। त्यसैले यस्ता विषय अहम् चासोका विषय हुन्।
प्रकाशित: २०८१ भदौ ९ गते आईतबार ०६:१७