काठमाडौं – कुवेतसँगै लेबनानले पनि यो वर्ष भारतमा हुने साफ च्याम्पियनसिप खेल्ने भएको छ। दक्षिण एसियाली फुटबल फेडेरेसनको ढाकामा आज सम्पन्न साधारणले प्रतियोगितमा लेबनानलाई पनि समावेश गर्ने निर्णय गरेको हो।
यससँगै लेबनान साफ खेल्ने दोस्रो देश बनेको छ। यसअघि साफले कुवेतलाई साफमा आमन्त्रण गरेको थियो। यो वर्षबाट साफले दक्षिण एसिया बाहेकका देशलाई पनि यो प्रतियोगितामा समावेश गर्ने भएपछि यि दुई सहभागी बन्ने पक्का भएको हो। यता, कुवेत साफमा आमन्त्रित हुने पहिलो टिमसमेत बनेको थियो।
विश्व वरियातमा ९९ नम्बरमा रहेको लेबनानले तीन पटक एसिया कप खेलिसकेको छ। त्यस्तै, कुवेत १४३ औं वरियतामा रहेको छ। कुवेत प्रतियोगितामा समावेश ६ देशमध्ये तेस्रो उच्च वरियताको टिमसमेत हो।
साफमा भारतले आठ उपाधि जितिसकेको छ। अघिल्लो वर्ष माल्दिभ्समा भएको साफमा पनि भारतले फाइनलमा नेपाललाई हराउँदै उपाधि जितेको थियो।
यो वर्ष साफ च्याम्पियनसिपमा आयोजक भारतसँगै, नेपाल, बंगलादेश, भुटान, पाकिस्तान, माल्दिभ्स, कुवेत र लेवनानको सहभागिता रहनेछ। अब भारतमा यो वर्षको २१ जुनदेखि ४ जुलाईसम्म भारतमा हुँदैछ।


