चितवन- चितवनको राप्तीमा बेपत्ता भएका दुई युवाको अवस्था तीन दिन सम्म पनि अज्ञात छ।
शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू नभेटिएको तर खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए।
भरतपुर महानगरपालिका-२७ जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए।
‘नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीय मिलेर नदीमा खोजी जारी राखिएको भए पनि अहिलेसम्म भेट्टाउन सकिएको छैन,’ उनले भने।
शुक्रबार २ बजे माछा मार्न निस्किएका भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरी र वडा नं २७ का ४५ वर्षीय शुकबहादुर परियारको खोजी आज पनि जारी रहेको उनले जानकारी दिए।
