काठमाडौँ- बिहीबार बिहान करिब ९:४५ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित ढुंगाको चेपभित्र शव भेटियो। अपरिचित ती महिलाको शव भेटिएपछि प्रहरीले हत्याको आशंका गर्यो।
शवमा चोटपटक समेत देखिएकाले प्रहरीले हत्याको आशंका गरेको थियो। प्रहरीका अनुसार मृतक महिला सिराहा घर भई काठमाडौं ३ बसुन्धारा बस्दै आएकी रामदुलारी हुन्।
शव भेटिएको दुई दिन पछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लियो। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नियन्त्रणमा लिएकामध्ये एक जना महिलाकै प्रेमी भएको प्रहरीको भनाइ छ। बसुन्धरा क्षेत्रबाट उनीहरू पक्राउ परेका थिए।
पक्राउ पर्नेहरूमा सर्लाही चक्रघट्टा गाउँपालिका-३ का ४० वर्षीय रामविनय महरा र सर्लाहीकै बसगरिया गाउँपालिका-५ का २४ वर्षीय सन्तोष राम महरा छन्। सन्तोषका फुपाजु रामविनय हुन्।
पक्राउ परेका रामविनय मृतक महिलाका प्रेमी भएको काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए।
मृतक दुलारीको परिवार तथा आफन्त सम्पर्कमा आइनसकेको प्रहरीले बताएको छ।
रामविनय पुलमुनि जुत्ता सिलाउने काम गर्दै आएका थिए भने मृतक रामदुलारी मजदुरीको काम गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
पक्राउ परेका विनयले आफू र मृतक दुलारीबीच २ वर्ष अघिदेखि चिनजान भएको र प्रेम सम्बन्ध रहेको बयान दिएका छन्।
मृतक दुलारीले दिनहुँ जाँडरक्सी खाने तथा अन्य पुरुषसँग पनि सम्बन्धमा रहेको आशंका गरी उनका प्रेमी रामविनय महराले हत्या गर्ने योजना बनाएका थिए। उनको योजनाअनुसार सन्तोष महरासँग मिलेर घटनाको दिन दुलारीलाई सुन्दरीजल पुर्याएका थिए।
घटनास्थलमा लगी विनय र सन्तोषले दुलारीलाई अग्लो स्थानबाट धकेलेका थिए। यसपछि रामदुलारी घाइते भइन्।
दुलारी घाइते अवस्थामै रहेका बेला उनीहरू दुवै जनाले पालैपालो ढुंगाले पटक-पटक टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ।


