काठमाडौँ– बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीलाई दयाहाङ राईले लाङटाङ घुमाएका छन्।
फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन काठमाडौं आइपुगेका सिद्दीकीलाई सोमबार दयाले लाङटाङ उपत्यका घुमाएका हुन्।
हेलिकोप्टरबाट त्यहाँ पुगेका सिद्दीकीले भूगोल र प्राकृतिक सौन्दर्यमा रमाए।
गोसाइकुण्ड जाने योजना रहेपनि खराब मौसमका कारण त्यता जान नसकिएको ‘शाम्बाला’ फिल्मका मिन्सो लिम्बूले बताएका छन्।
लाङटाङबाट फर्केलगत्तै अभिनेता सिद्दिकी मण्डला थिएटरमा अभिनयका विद्यार्थी र कलाकारसँगको अन्तरक्रियामा सहभागी भए।
शाम्बालाकै प्रिमियरका लागि नेपाल आएका बलिउड निर्देशक अनुराग कश्यप चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘फिल्मिङ इन नेपाल’ नामक छायांकन थलो समेटिएको पुस्तक उपहार दिएका थिए।
निर्देशक कश्यपले नेपाल संस्कृति र प्राकृतिक सौन्दर्यमा धनी रहेको भन्दै आफू पनि निकट भविष्यमा नेपालमा फिल्म छायांकनका लागि उत्साही रहेको बताए।
कश्यप सोमबार बेलुका दिल्ली फर्किए।


