काठमाडौँ- जीबी राईले ५० करोडको सम्पत्ति हडपेको भन्दै संसदीय समितिमा उजुरी पुगेको छ।
व्यवसायी पुष्पराज पुरुषले राईविरुद्ध सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’मा उजुरी दिएका हुन्।
राईले ५० करोड रुपैयाँ बराबरको सम्पत्ति कब्जा गरेको पुरुषको आरोप छ।
तीनकुनेमा रहेको ९ आनामा बनेको २ वटा घर, काभ्रे र महवानपुर ठिङ्गनका लगभग २०० रोपनी जग्गा, संगत आश्रमको नाममा भएको गोदावरीको ६ रोपनी चानचुन जग्गा राईले हडपेको उनको आरोप छ।
यस्तै बाँडीगाउँको १४ रोपनी जग्गा, बडिखेलको २० रोपनी जग्गा र भक्तपुरको ५ रोपनीलगायतका सम्पत्ति लिएर राई भागेको पुष्पराजको उजुरीमा उल्लेख छ।
राईको समूहले सहकारीको पैसा ऋण दिने, ऋण दिए बापत प्रक्रिया नपुर्याई शेयर दिने, बिस्तारै सबै ऋणीहरुलाई धोका दिने र सम्पत्ति र कम्पनी सबै कब्जा गर्ने र ऋणीहरुलाई कुनै न कुनै कानूनी परिबन्धमा पारेर फसाएकाले राईमाथि कारबाही गर्न उनको माग छ।
हर्बो इन्टरनेसनल प्रालिमा पुरुष र राई पार्टनर थिए। पछि राई सहकारीतर्फ लागेका थिए।


