काठमाडौँ- सिटिजन्स बैंकले फोनपेसँगको सहकार्यमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ।
‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नेपालको आफ्नै कार्ड स्किम भएको फोनपेले जनाएको छ।
योसँगै नेपालमा पहिलोपटक क्यूआर भुक्तानी र क्रेडिट भर्चुअल बनेको कम्पनीको भनाइ छ।
सिटिजन्स फोनपे क्रेडिट कार्ड सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपबाट केही सेकेन्डमै प्राप्त गर्न सकिने भएको छ।
यो क्रेडिट कार्डबाट १४ लाखभन्दा बढी फोनपे मर्चेन्टमा सजिलै स्क्यान गरी भुक्तानी गर्न सकिनेछ।
यस्तै, मासिक खर्च ट्रयाक गर्न मिल्नेदेखि ४५ दिनसम्म ब्याजबिनाको क्रेडिट अवधि पाइने बैंकले जनाएको छ।
सुरुआती चरणमा बिहीबारदेखि कार्ड प्रयोग गरेर कुनै पनि भुक्तानी गर्दा ५० प्रतिशत एक हजार रुपैयाँसम्म क्यासब्याक पाइने योजना फोनपे तथा बैंकले ल्याएको छ।
सीमित समयको अफर सिटिजन्स फोनपे क्रेडिट कार्डका सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने कम्पनीको भनाइ छ।
सिटिजन्स बैंकका सीईओ गणेशराज पोखरेलले फोनपेसँगको सहकार्यमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गर्न पाएको भन्दै खुसी व्यक्त गरे।
फोनपेका सीईओ दिवस कुमारले नेपालकै आफ्नै भर्चुअल क्रेडिट कार्डले डिजिटल भुक्तानीमा थप सजिलो अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे।
