काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद निशा डाँगीले लोकसेवा आयोगका विभिन्न पदमा आवेदन दिने परीक्षार्थीका तथ्यांक सुरक्षित नराख्ने अधिकारीहरूलाई कारबाही गर्न सरकारसँग माग गरेकी छन्।
जारी प्रतिनिधिसभाको बैठकमा सांसद डाँगीले विश्वमा प्रविधिले फड्को मरिरहँदा हाम्रो सरकारले भने चार लाख आवेदकको डाटा पनि सुरक्षित राख्न नसकेको भनी आलोचना गरेकी छन्।
‘२०७९ सालको मंसिर, पुस र माघ महिनामा लोकसेवा आयोगमा दरखास्त दिएका झन्डै चार लाख आवेदकको डेटा हराएको छ। डेटा पुनः प्राप्तिको प्रयास गरेको दुई महिनाभन्दा बढी भइसक्दा पनि डेटा रिकभर नभएपछि लाजमर्दो तरिकाले आयोगले पुनः दरखास्त आह्वान गरेको छ। विश्वमा प्रविधिले यस्तो फड्को मारिरहँदा हाम्रो सरकारले चार लाख आवेदकको डेटा सुरक्षित राख्न सकिरहेको छैन,’ उनको माग थियो, ‘डेटा रिकभर हुँदैन भने जिम्मेवार निकायमा बसेकालाई कारबाही गरियोस।’
नेपालका अधिकांश युवा विदेशीरहेका बेला स्वदेशमै भविष्य खोज्ने नागरिकलाई पनि सरकारले प्रोत्साहन गर्नुको साटो निरुत्साहन गरिरहेको आरोप पनि उनले लगाइन्।
उनले भनिन्, ‘नेपालका अधिकंश युवाहरू विदेशीएका छन्। केहिले स्वदेशमै भविष्य खोजिरहेकालाई प्रोत्साहन गर्नुको सट्टा सरकारले उल्टै निरुत्साहन गरिरहेको छ। यसरी युवाहरूको भविष्यसँग खेलबाड नगरियोस र पटक पटक लोकसेवा आयोगले लिने परिक्षाको मिति सरिरहने समस्याको अन्त्य गर्न सम्बन्धित निकायसँग अनुरोध गर्न चाहन्छु।’


