ललितपुर- सहकारी छानबिनका लागि गठित विशेष संसदीय समितिले मितेरी सहकारीको स्थलगत निरीक्षण गरेको छ। कांग्रेस उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङसमेत सहकारी ठगीमा संलग्न भएको आरोप लागेपछि समितिले कार्यालयको स्थलगत निरीक्षण गरेको हो।
सहकारीमा उपसभापति गुरुङकी श्रीमती ज्योति गुरुङ व्यवस्थापक थिइन्। उनी व्यवस्थापक भएकै बेला सहकारीले १५ करोड रकम अपचलन गरेको आरोप छ।
ज्योति र धनराजले २०७६ सालमा नै सम्बन्ध विच्छेद गरेका छन्। सहकारीमा आफू संलग्न नभएको तर श्रीमती संलग्न भएपनि उनीसँग सम्बन्ध विच्छेद भइसकेकाले आफूमाथि गलत दोषारोप गरिएको जिकिर गर्दै आएका छन्।
सहकारी बचत अपचलनसम्बन्धी घटनाहरूको छानबिन गर्न एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित संसदीय छानविन विशेष समितिका सदस्यहरू मितेरीमा पुगेका थिए।
समिति अध्यक्षसहितको टोलीले मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग सोधपुछ गरेको थियो।
धनराज-ज्योतिको डिभोर्स भएको भनिए पनि श्रीमतीको नाममा रहेको ऋण धनराज आफैँले आएर तिरेको सहकारीका अध्यक्ष गुरुङले समिति सभापति थापालाई बताएका थिए। धनराजले एक महिनाअघि मात्रै आएर ऋणको पैसा तिरेको तर उनीहरुको वास्तविक डिभोर्स नै नभएको बताएका थिए।
निरीक्षणका लागि पुगेका समितिका सदस्य राजन दाहालले सक्कली सम्बन्धविच्छेद नभएको टिप्पणी गरे।


