काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघ (यूएन) को ७९औं महासभामा भाग लिन असोज ५ गते अमेरिका पुग्ने भएका छन्।
पछिल्लो पटक प्रधानमन्त्री बनेपछि ओलीको यो पहिलो विदेश भ्रमण हो।
गत असार ३० गते चौथो पटक ओली प्रधानमन्त्री नियुक्त भएका थिए। ओली त्यसको २ महिना पछि अमेरिका जान लागेका हुन्। उनी असोज १५ गते स्वदेश फर्किने कार्यतालिका छ। उनले असोज १० मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
ओली राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ सम्म हुने महासभामा सहभागी हुने छन्। त्यस्तै, समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बरमा हुने तय भएको छ।
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभा र समिट अफ द फ्युचरलाई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिवलगायत हुनेछन्। टोलीमा २२ सदस्य न्युयोर्क पुग्नेछन्।
ओलीले यसअघि २०७५ असोजमा पनि राष्ट्रसंघ महासभालाई सम्बोधन गरेका थिए।
असोज १० मा महासभालाई सम्बोधन गरेको भोलिपल्ट असोज ११ गते ओली न्युयोर्कबाट बोस्टन उड्ने कार्यक्रम छ।
बोस्टनमा असोज ११ मा सम्बोधन गरेपछि असोज १२ मा ओली त्यत्तैबाट नेपाल फर्कनेछन् ।
ओलीले अमेरिकामा रहँदा न्युर्योकस्थित कोलम्बिया विश्वविद्यालय र बोस्टनस्थित हार्वर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने भएका छन्।
कोलम्बिया विश्वविद्यालयमा असोज ७ र हार्वर्ड असोज ११ मा सम्बोधन गर्ने कार्यक्रमको तयारी भइरहेको छ।
ओली पहिलो र दोस्रोपटक प्रधानमन्त्री हुँदा भारत भ्रमणबाटै आफ्नो विदेश यात्रा थालेका थिए। तेस्रोपटक तीन महिना मात्र प्रधानमन्त्री हुँदा कुनै पनि मुलुकको भ्रमण गरेनन्।
ओली २०७२ सालमा पहिलो पटक, २०७४ सालमा दोस्रो पटक र २०७८ सालमा तेस्रो पटक प्रधानमन्त्री भएका थिए।
ओलीले पछिल्लो पटक सन् २०२० मा कोभिड–१९ महामारीका कारण भर्चुअल रुपमा भएको यूएनको ७५औं महासभालाई सम्बोधन गरेका थिए।
सन् २०२१ को ७६औं महासभामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्री नारायण खड्काको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाएका थिए।
त्यसपछि ७७औं महासभामा तत्कालीन प्रधानमन्त्री देउवाले परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाएका थिए।
७८औं महासभामा भने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल गएका थिए।


