काठमाडौँ- प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हावा कुराको तथ्यहीन प्रचारबाजीमा नलाग्न युट्युबहरूलाई निर्देशन दिएका छन्।
अध्यक्ष बस्नेतले नकरात्मकता त्यागेर सफलताका लागि रचनात्मक पहल लिन सबैलाई आग्रह गरे।
सोमबार काउन्सिलमा आयोजित एक कार्यक्रममा उनले युट्युबर हावा सूचनाको पछि लाग्नु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने समेत बताए।
‘सामाजिक सञ्जालको सदुपयोग भए देश बन्छ। हावा कुराको पछि लाग्नु, अफवाह र भ्रम फैलाउनु दुरुपयोग हो,’ उनले भने।
मिडियाको गलत प्रस्तुतिका कारण सिङ्गो समाजमा गलत भाष्य स्थापित भएको भन्दै काउन्सिलले केही महिनादेखि रचनात्मक पत्रकारितालाई अभियानकै रुपमा बहस चलाएको छ।
काउन्सिलले बोर्ड बैठकबाट अबको पत्रकारिता समाधानमुखी र रचनात्मक हुनुपर्ने र त्यसलाई देशब्यापी बनाउने निर्णय भएको थियो।
युट्युबसहित सामाजिक सञ्जालमा देखिएका बेथिति रोक्न काउन्सिलले यस्तो अभियान थालेको हो।
प्रेस काउन्सिलले पछिल्लो समयमा एकपक्षीय, आधारहीन र तथ्यहीन सूचना सम्प्रेषण गर्ने युट्युबसहितका मिडियालाई कानुनी कारवाही गर्दै आएको छ।


