काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक भेला बोलाएको छ। सहकारीको रकम अपचलन गरेको गोर्खा मिडिया नेटवर्कमा व्यापारिक साझेदारसमेत रहेका पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेलगत्तै सभापति लामिछानेले आकस्मिक भेला बोलाएका हुन्।
काठमाडौँ उपत्यकामा रहेका आफ्नो पार्टीका कार्यकर्तालाई जतिसक्दो छिटो राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको छ।
रास्वपाका एक नेताका अनुसार सभापति रवि लामिछानेसहितका केन्द्रीय नेताहरु पार्टी कार्यालय पुगिसकेका छन्।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ पर्ने आशंका गर्दै रास्वपाले भेला डाकेको हो।
लामिछाने पक्राउ पर्न सक्ने चर्चा सुरु भएसँगै कार्यालयमा भिड बढेको छ। पार्टीका नेता कार्यकर्ताहरु धमाधम कार्यालय पुगिरहेका छन्।
कार्यालय परिसरमा सादा पोशाक लगाएका र बर्दीका प्रहरी पुगेका छन्।
गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई प्रहरीले आइतबार नै प्रक्राउ गरेको छ। जोशीलाई आकस्मिक पक्राउ पुर्जी जारी गरेर पक्राउ गरिएको हो।
रवि गोर्खा मिडियामा रहँदा विभिन्न सहकारीको ६५ करोडभन्दा बढी रकम अपचलन भएको सहकारी छानबिन समितिले ठहर गरेको छ। उक्त रकम अपचलनमा रविलाई कारबाही गर्न समितिको सिफारिस छ।
संसदीय छानबिन समितिले रवि, जीबी र छवि तीनै जनालाई कारबाही सिफारिस गरेको छ।
गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै निर्देशन दिएका थिए।
रवि, गितेन्द्रबाबु राई र जोशी मिलेर गोर्खा मिडिया नेटवर्क खोलेका थिए। गोर्खा मिडियामा रविको १५ प्रतिशत, जोशीको ३५ प्रतिशत र राईको ५० प्रतिशत शेयर कायम गरिएको थियो। तर उक्त मिडिया खोल्दा देखाइएको बिउपुँजी पनि सहकारीबाट नै ल्याइएको समितिको प्रतिवेदनमा उल्लेख छ।
सहकारीले कुनै पनि मिडियामा लगानी गर्न नहुने नेपालको कानुनी व्यवस्था रहेको तर गितेन्द्र अध्यक्ष भएका ५ सहकारीले कुनै पनि प्रक्रिया पूरा नगरी गोर्खामा पैसा लगाएका थिए। ती सहकारीले रविको समेत नाम लेखेर रकम जम्मा गरेका थिए।
सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न सिफारिस गरेको थियो। सूर्यदर्शन सहकारीसहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको समितिले मिडिया नेटवर्कका अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी तथा कुमार रम्तेलमाथि कारबाही गर्न सिफारिस गरेको छ।
समितिले संसदमा बुझाएको ११२४ पेजको प्रतिवेदनको १८औँ परिच्छेदमा सिफारिसका विषयमा उल्लेख छन्।
‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,’ समितिको सुझाव तथा सिफारिस खण्डमा उल्लेख छ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र सञ्चालक छविलाल जोशीले संयुक्त खाता सञ्चालन गरी कर्मचारीलाई तलब भत्ता समेत सहकारीबाटै खुवाएको समितिको प्रतिवेदनमा उल्लेख छ।
सहकारीको पैसा मिडियामा लगानी गर्नु आफैंमा पनि नियम विपरीत भएकाले समितिले यो तर्कलाई केन्द्रमा राखेर, रवि, जिवी र छबी तीनै जनलाई ‘दोषी’ का रुपमा चित्रण गरेको छ।
यद्यपि लामिछानेले ऋण र लगानीका विषयमा आफूलाई केही थाहा नभएको जिकिर गर्दै आइरहेका छन्। तर उनीहरूले छानबिन समितिले आफूलाई क्लिनचिट दिएको समेत उल्लेख गरेका छन्। समितिमा ९ घण्टा दिएको बयानमा पनि उनले आफूलाई केही थाहा नभएको तर्क गरेका थिए।
गोर्खा मिडियाका अध्यक्ष जीवी राई भने यतिबेला मलेसियामा छन्। उनलाई नेपाल फर्काउने प्रयास सफल भएका छैनन्।
नेपाल प्रहरीका प्रतिनिधि मलेसिया नै पुगेर उनीबारे सोधखोज गरे पनि कानुनी अड्चनका कारण जीवीलाई नेपाल ल्याउन प्रहरी निष्फल देखिएको छ।
कास्की प्रहरीले सहकारी रकम अपचलनका विषयमा पूरक जाहेरीका आधारमा रविमाथि अनुसन्धान जारी राखेको बताउन थालेको छ।
