काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयअन्तर्गतका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेका छन्।
आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य विभागको महानिर्देशकदेखि अस्पताल प्रमुखको जिम्मेवारी परिवर्तन गरिएको हो।
स्वास्थ्य सेवा विभागमा महानिर्देशकको जिम्मा डा. विकास देवकोटाले पाएका छन्। यसअघि विभागको महानिर्देशक रहेकी डा. संगीता मिश्रालाई मन्त्रालय तानिएको छ।
उपचारात्मक महाशाखाको जिम्मेवारी डा सुधा देवकोटाले पाएकी छन्। महाशाखाका डा अनुप बास्तोलालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ।
विभागको व्यवस्थापन महाशाखा प्रमुखमा डा. पवनजंग रायमाझीलाई लगिएको छ। यसअघि त्यहाँ रहेका डा. श्रवण थापा राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ।
स्वास्थ्य तालिम केन्द्रमा यशोदा अर्याललाई लगिएको छ। डा. अनुप भट्टचनलाई सार्क टिबी रोग केन्द्रको जिम्मेवारी दिइएको छ । सार्क टिबी सेन्टरमा रहेकी डा मनीषा रावललाई केन्द्रीय कारागार अस्पतालको निर्देशक बनाइएको छ।
कारागार अस्पतालमा निर्देशक रहेका डा प्रकाश बुढाथोकीलाई मन्त्रालय तानिएको छ। उनी मन्त्रालयका प्रवक्ता पनि बनेका छन्।
वीरगञ्जस्थित नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट बनेर डा. चुमनलाल दास गएका छन्।
यस्तै, गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी डा. सरोज शर्माले पाएका छन्। यसअघि उक्त महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका डा मदन उपाध्यायलाई वीर अस्पतालमा सरुवा गरिएको छ ।
कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट बनेर डा रूना झा गएकी छन्।
गजेन्द्र नारायण सिंह अस्पतालको मेसु बनेर डा. श्रीराम तिवारी जाने भएका छन्।


