पोखरा- गण्डकी प्रदेशको नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले पदभार ग्रहण गरेका छन्। बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री एवं आयोगका अध्यक्ष सुरेन्द्रराज पाण्डेले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा आयोगका नवनियुक्त शपथ लिएलगत्तै डा देवकोटाले पदभार सम्हालेका हुन्।
पदभार ग्रहणपछि डा देवकोटाले संविधानले दिएको सीमाभित्र रहेर प्रदेशलाई बलियो र समृद्ध बनाउन भूमिका खेल्ने बताए। कृषि, पर्यटन पूर्वाधार, जलस्रोत, गुणस्तरीय शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा प्राथमिकीकरणका आधारमा काम गर्नुपर्ने उनको भनाइ छ। सरकारका नीति तथा योजना कार्यान्वयनमा सबै पक्षसँग मिलेर काम गर्ने उनले प्रष्ट पारे।
विसं २०३९ मा गोरखामा जन्मिएका देवकोटाले गोरखाकै अमरज्योति जनता माध्यमिक विद्यालयबाट विसं २०५५ मा एसएलसी उत्तीर्ण गरेका थिए। २०५७ मा काठमाडौँको सिद्धार्थ वनस्थलीबाट आइएस्सी र विसं २०६० मा त्रिचन्द्र कलेजबाट बिएस्सी उत्तीर्ण डा देवकोटाले पछिल्लो समय विपद् र विकाससँगै अनुसन्धानको क्षेत्रका क्रियाशील छन्।
