काठमाडौँ– सहकारी ठगीको आरोप लागेपछि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन्। भारतीय प्रहरीले नेपालीलाई दिल्लीबाट पक्राउ गरेको हो।
इन्टरपोलमा रेड नोटिस जारी भएकाले उनलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको हो। नेपालीलाई पक्राउ गरिएको विषय भारतीय प्रहरीले नेपाल प्रहरीलाई जानकारी गराइसकेको छ।
नेपाल प्रहरीका अनुसार उनलाई अब नेपाल ल्याइनेछ। नेपालीविरुद्ध १२ माघ ०८० मा रेड कर्नर नोटिस जारी भएको थियो।
नेपाली इमेज सहकारीका संस्थापक अध्यक्ष हुन्। उनीमाथि दुई अर्ब भन्दा बढी सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ।
इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङ शाखा छन्। पोखराको सिर्जनाचोकमा समेत शाखा छ।
श्रीमतीसहित फरार रहेका मेयर नेपालीले ५ मंसिर ०८० मा फेसबुकमा भिडियो सन्देश तथा विज्ञप्तिमार्फत आफ्नो र श्रीमतीको नाममा रहेको घरजग्गाबाट हिसाब मिलाउन तयार रहेको सार्वजनिक गरेका थिए ।
फेसबुकमार्फत फरार मेयर नेपालीले आफू र श्रीमती छेला नेपालीको नाममा भएको ३ अर्बभन्दा बढी सम्पत्ति मालपोत कार्यालयमा गएर हस्तान्तरण गर्न तयार रहेको बताएका थिए।
सहकारीको रकम हिनामिनामा नेपाली र उनकी श्रीमतीसहित ८ जनाविरुद्ध मुद्दा चलिरहेको छ। अध्यक्ष नेपाली गत वैशाखदेखि फरार थिए।
यही प्रकरणमा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन्। उनीहरुलाई जिल्ला अदालत बागलुङको गत साउन ५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ।
पक्राउ परेका ५ जनाले अदालतमा सहकारीमा आफूहरुको कुनै हात नभएको बयान दिएका छन्।
इमेजले गत वैशाख ७ गते सूचना प्रकाशित गरेर सहकारी संस्था बन्द गरेको थियो।


