पोखरा- सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। शुक्रबार कास्की जिल्ला अदालतले उनलाई म्याद थपका लागि अनुमति दिएको हो।
असोज ६ गते काठमाडौँको शंखमूलबाट उनी पक्राउ परेका थिए। उनलाई सोही दिन पोखरा ल्याइएको थियो। अदालतले ७ गते ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
जोशीले प्रहरीलाई दिएको बयानमा गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष रहेको पोखराको सूर्दर्शन सहकारीमा आफ्नो खाता र हस्ताक्षर नभएको बयान दिएका छन्। गोर्खा मिडियामा आफू गलत मान्छेको फन्दामा परेको उनको बयान छ।
विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै संसदीय छानबिन समितिले कारबाही गर्न सिफारिस गरेको छ। उनीसँगै गोर्खामा साझेदार रहेका रास्वपाका सभापति रवि लामिछानेमाथि पनि समितिले कारबाही सिफारिस गरेको छ।
