काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाह भूटान भ्रमणमा जान लागेका छन्। ज्ञानेन्द्रका संवाद सचिव डा फणिराज पाठकले सूचना जारी गर्दै आगामी साता पूर्वराजा ज्ञानेन्द्र भूटान भ्रमणमा जान लागेको जानकारी गराएका हुन्।
आगामी साता ज्ञानेन्द्र शाह भूटान जाने भनिएको भएपनि तिथिमिति र कार्यक्रमबारे जानकारी गराइएको छैन। यद्यपि उनी नौरथा सुरु भएपछि भूटान जाने बताइएको छ।
‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव भुटानको निजी भ्रमणको सिलसिलामा आगामी हप्ता सवारी होइबक्सने छ,’ डा पाठकले जारी गरेको सूचनामा उल्लेख छ।
भूटानमा पूर्वराजाले त्यहाँका राजा जिग्मे खेसर नाम्गेलसँग भेटवार्ता गर्ने आकलन गरिएको छ।
भूटानी राजा नाम्गेलको जन्म नेपालमै भएको थियो। जिग्मेकी आमा रानी छिरङ योङ दोन नेपालमा आएका बेला नाम्गेल जन्मिएका थिए। काठमाडौँको प्रसुतीगृहमा नाम्गेलको जन्म भएको हो। 


