काठमाडौं- देशका अधिकांश भागमा शुक्रबारदेखि परिररहेको भारी वर्षाका कारण विभिन्न ठाउँमा जनधनको क्षती भएका समाचारहरु प्राप्त भइरहेका छन्।
काठमाडौँको वाग्मती, विष्णुमति, हनुमन्तेलगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक प्रायः बन्द भएका छन्। सबै खोलामा करिडोर सडकमा पानी उक्लने अवस्था बनेको छ।
ललितपुर महानगरपालिका १४ नखिपोटमा नख्खु खोलाले बगाउँदा चारजना बेपत्ता भएका छन्।
पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको समाचार प्राप्त भएको छ। निरन्तरको वर्षाका कारण खसेको पहिरोमा परी पुरिँदा फिदिम नगरपालिका–४ चिसापानीमा बस्दै आएका फिदिम नगरपालिका–१२ का २५ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो।
धनुकटामा अविरल वर्षासँगै आएको पहिरोले पुरिएर आमाछोरीको मृत्यु भएको छ।
काभ्रेको काभ्रेका विभिन्न ठाउँमा पहिरोका कारण मानवीय तथा भौतिक क्षति भएको समाचार छ। साँगामा पहिरोले घर बगाउँदा एकै परिवारका २ जना बेपत्ता भएका छन्। पनौती–१२मा करिब साढे ३ बजेको समयमा अबिरल वर्षाका कारण बएको पहिरोले घर पुरिँदा श्रीमान् श्रीमती बेपत्ता भएका छन्।
त्यस्तै पनौती न.पा. ११ थुम्कीमा १ घर पुरिँदा ४ जना सम्पर्कबिहीन भएका छन्। पनौती–१२ कोलाँतीमा गोपाल तिमल्सिनाको घर पुरिँदा ४ जना सँगै पुरिएका थिए। त्यसमध्ये ३ जनालाई जिबितै उद्धार गरिएको छ भने १ जना बेपत्ता भएका छन्।
नमोबुद्ध–२ श्यामपाटीमा बिहान ६ बजे गएको पहिरफमा परी २ जना बेपत्ता भएका छन्। त्यसैगरी तेमालमा गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ।
झापाबाट प्राप्त समाचारमा त्यहाँ बाढीमा बगेर दुई जना बेपत्ता भएका छन्। झापाको कमल गाउँपालिका र कचनकवल गाउँपालिकामा एक–एक जनालाई बगाएको हो। प्रहरीका अनुसार बाढीले एउटा पुल र एउटा मोटरसाइकल पनि बगाएको छ।
गोरखाबाट प्राप्त समाचार अनुसार त्रिशूली नदीमा बाढीले गोरखाको गण्डकी गाउँपालिका-१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका-३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको छ।
अविरल वर्षाका कारण नदीमा आएको भीषण बाढीले शुक्रबार राति करिब १०ः१० बजे आयोजनाको तीन टिपर र दुईवटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह-प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।
ललितपुरमा नख्खु खोलाले सशस्त्र प्रहरीका उद्धारकर्तालाई नै बगाएको छ। खोलाले बगाएका ती उद्धारकर्ताको एक घण्टापछि उद्धार गरिएको छ।
कुसुन्तीमा बाढीमा फसेका मानिसको उद्धारका लागि उनी खटिएर गएका थिए।
मानिसहरुलाई उद्धार गरी सुरक्षित स्थानतर्फ फर्कने क्रममा सशस्त्रका उद्धारकर्तालाई नै नख्खु खोलाले बगाएको थियो।
नख्खुले नै बगाएका ४ जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा एक महिला, दुई जना पुरुष र एक बच्चा छन्।
बिहान ९ बजेको समयमा खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यकामा विद्युत सेवा अवरुद्ध
निरन्तरको वर्षाका कारण धेरै ठाउँको विद्युत् आपूर्ति प्रभावित भएको छ। वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारहरुमा क्षति पुर्याउँदा आपूर्ति प्रभावित भएको हो।
प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषकाअनुसार, काठमाडौं उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ।
प्रवक्ता घोषले काठमाडौं उपत्यकाको विद्युत् माग सामान्य अवस्थामा करिब ४०० मेगावाट हुने गरेकोमा शनिवार करिब २०० मेगावाट मात्र रहेको बताए। काठमाडौं उपत्यकाको आधा क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
बानेश्वर सबस्टेसनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका फिडहरु प्रभावित भएका छन्। भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन्।
त्यस्तै पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तिवन, चापागाउँ,खोकना, चक्रपथ, हरिसिद्धी, रेडियो नेपाल र लुभु फिडर बन्द छन्।
लैनचौर सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको गैह्रिधारा फिडर बन्द छ। टेकु सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका कीर्तिपुर, बागमती, ताहाचल,सुन्धारा, कालिमाटी, चक्रपथ र चमती फिडर प्रभावित भएका छन्।
नयाँ चाबहिल सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेका हाँडीगाउँ तथा कालोपुल र स्यूचाटार सबस्टेनबाट विद्युत् आपूर्ति भइरहेका कलंकी, बलम्बु रोपवे फिडर प्रभावित भएका छन्।
प्राधिकरणका प्रवक्ता घोषले विद्युत् आपूर्ति जतिसक्दो छिटो सेवा नियमित गर्न टोली खटिएको जानकारी दिए। धेरै ठाउँ जलमग्न भएको र नदीको सतह बढेकाले लाइन चलाउन अप्ठ्यारो भइरहेको उनको भनाइ छ।
महानगरले खटायो ३ सय प्रहरी
अविरल वर्षाले सिर्जना गरेको विपद व्यवस्थापन गर्न काठमाडौँ महानगरले नगर प्रहरीका १७ वटा टोली परिचालन गरिएको जानकारी दिएको छ।
निरन्तर वर्षाका कारण राजधानी सहर काठमाडौँ सिर्जना भएको विपद व्यवस्थापन गर्न नगर प्रहरीका ३ सय जना परिचालन गरिएको मेयर बलाेन्द्र साहले जानकारी गराएका छन्।
उद्धार टोलीहरु डुबान भएका बस्ती, नदी किनारा, रुख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयत्न गरिरहेको उनको भनाइ छ।
वंशीघाट (विश्व निकेतन विद्यालय पछाडि), कुशेश्वर, कपुरधारा, जडिबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमूल, न्युरोड, गणेशस्थानलगायत स्थानको समस्या समाधान भइसकेको उनले जानकारी दिए।
स्थानीयले दिएको सूचना, हटलाइन टेलिफोनमा टिपिएका अनुरोधलाई तत्काल सम्बोधन गर्ने प्रयास गरिएको उनले उल्लेख गरे।
जलजन्य विपद (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भए काठमाडौँ महानगरपालिकाका हटलाइन १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा सम्पर्क गर्न मेयर साहले अनुरोध गरेका छन्।
अस्पताल जानु परे निःशुल्क एम्बुलेन्स प्रयोग गर्नका १०२ मा फोन गर्नसमेत उनले आह्वान गरेका छन्।
यसैबीच दोलखामा ७ जना हराइरहेको खबर प्राप्त भएको छ। दुई ठूला विद्युत आयोजना माथिल्लो तामाकोशी र खिम्ती क्षेत्रमा आएको बाढीमा मानिसहरु हराएको प्रहरीले बताएको छ।
त्यस्तै माथिल्लो तामोकोसी जलविद्युत केन्द्रको बाँधस्थलमा रहेको हेडवक्सको विद्युत सञ्चालन गृहलाई पहिरोले बगाउँदा ४ जना सम्पर्कविहीन बनेका छन्। तामाकोशी विद्युत केन्द्रमा कार्यरत २ कर्मचारी र २ नेपाली सेना गरी चार जना सम्पर्क विहिन भएको दोलखा प्रहरीले जनाएको छ।
