काठमाडौँ- अविरल वर्षाले सिर्जना गरेको विपद व्यवस्थापन गर्न काठमाडौँ महानगरले नगर प्रहरीका १७ वटा टोली परिचालन गरिएको जानकारी दिएको छ।
निरन्तर वर्षाका कारण राजधानी सहर काठमाडौँ सिर्जना भएको विपद व्यवस्थापन गर्न नगर प्रहरीका ३ सय जना परिचालन गरिएको मेयर बलाेन्द्र साहले जानकारी गराएका छन्।
उद्धार टोलीहरु डुबान भएका बस्ती, नदी किनारा, रुख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयत्न गरिरहेको उनको भनाइ छ।
वंशीघाट (विश्व निकेतन विद्यालय पछाडि), कुशेश्वर, कपुरधारा, जडिबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमूल, न्युरोड, गणेशस्थानलगायत स्थानको समस्या समाधान भइसकेको उनले जानकारी दिए।
स्थानीयले दिएको सूचना, हटलाइन टेलिफोनमा टिपिएका अनुरोधलाई तत्काल सम्बोधन गर्ने प्रयास गरिएको उनले उल्लेख गरे।
जलजन्य विपद (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भए काठमाडौँ महानगरपालिकाका हटलाइन १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा सम्पर्क गर्न मेयर साहले अनुरोध गरेका छन्।
अस्पताल जानु परे निःशुल्क एम्बुलेन्स प्रयोग गर्नका १०२ मा फोन गर्नसमेत उनले आह्वान गरेका छन्।


