सुनसरी– सप्तकोसी नदीमा पानीको बहाब उच्च भएपछि कोसी ब्यारेजका सबै ढोका खोलिएको छ। अविरल वर्षाका कारण नदीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खुला गरिएको हो।
सप्तकोसी नदीको बहाव अहिले ४ लाख ९४ हजार क्यूसेक मापन भएको छ। यो खतराको तह भन्दा माथिल्लो तह हो। यसअघि असार २३ गते पनि ५६ वटै ढोका खोलिएको थियो।
ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्छ, बहाव उच्च भएपछि भारतीय पक्षले सबै ढोका खुला गरेको हो।
भारतीय पक्षले बाढी ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने खतरा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
सुनसरी र सप्तरी प्रशासनले सतर्कता अपनाएका छन्।
कोशीमा बहाव उच्च भएपछि भारतको पटनास्थीत जल संसाधन विभागका प्रधान सचिव सन्तोषले शुक्रबार सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका थिए। उनले जारी गरेको सूचनामा पानीको बहाब ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्नसक्ने अनुमान छ।
कोशी नदीसँग जोडिएका भारतको सुपौल, सहरसा, मधेपुरा, मधुवनी दरभंगा र खगडिया जिल्लाको प्रहरीलाई सतर्क रहन पनि उनले आग्रह गरेका थिए।
नदीमा पानीको बहाब १ लाख ७५ हजार क्युसेकभन्दा बढी भए खतराको संकेत गरिन्छ।
सन् १९६८ मा नदीमा हालसम्मकै उच्च ७ लाख ८८ हजार २ सय क्युसेक पानी बगेको थियो।
सन् १९८८ मा ५ लाख २३ हजार ७७१ क्युसेक पानी बहेको रेकर्ड गरिएको छ।
ब्यारेज बनाउँदा ९ लाख क्युसेक पानीको बहाब धान्न सक्ने गरी निर्माण गरिएको बताइएको थियो।
पछिल्लो समय नदीको माथिल्लो भागमा बालुवा थुप्रिएका कारण पानीको बहाब कम भए पनि जोखिम भने बढी हुने गरेको छ।
२०६३ भदौ २ गते १ लाख ६८ हजार क्युसेक पानी पुग्दा नै पूर्वी तट भत्किएर ७ हजार ५३६ परिवार विस्थापित भएका थिए।
५० वर्षभन्दा पुरानो कोशी ब्यारेजमा पानीको बहाब बढेसँगै नेपाल र भारत विहारका नागरिकलाई जोखिम बढ्ने गरेको छ।
एक दशक लगाएर सन् १९६२ मा निर्माण भएको कोशी ब्यारेज भारतको कोलकतास्थित जोसेफ एण्ड कम्पनी लिमिटेडले निर्माण गरेको हो।
ब्यारेज सन् १९६४ देखि पूर्ण रुपमा प्रयोगमा आएको थियो ।
कोशी ब्यारेजमा सुनसरीतर्फ २८ र सप्तरी तर्फ २८ गरी कुल ५६ वटा ढोका रहेका छन्। ब्यारेजको लम्बाई एक हजार १ सय ४९ मिटर रहेको छ।


