काठमाडौँ– लगातारको मुसलधारे वर्षाका कारण शनिवार बिहान नारायणी नदीमा पानीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ।
जल मापन केन्द्र देवघाटमा बिहान नदीको पानीको सतह ११ मिटर ३५ सेन्टिमिटर पुगेको छ।
जल मापन केन्द्र स्थापनाकाल देखि हालसम्म नदीको सतह यति माथि पुगेको पहिलो हो।
नारायणी नदीमा नौ मिटर पानीको सतह पार गर्नुलाई खतरा मानिन्छ।
मापन अनुसार सात मिटर ३० सेन्टिमिटर सतह पार गर्नुलाई नदीको बहाव मापदण्डभन्दा माथि रहेको सतर्कताको अवस्था मानिन्छ भने नौ मिटर पार गर्नु खतराको सूचकको रूपमा लिने गरिन्छ।
जिल्ला प्रशासन कार्यालय चितवनले नदी किनारका बस्तीका बासिन्दाहरूलाई सचेत रहन आग्रह गरेको छ।
राप्ती नदीको समेत पानीको सतह बढेकोले नदी किनारका बस्तीहरूमा सजगता अपनाउन र जिल्ला स्थित विपद् व्यवस्थापन टिम तयारी अवस्थामा रहन प्रशासनले आग्रह गरेको छ।
