हेटौँडा- मकवानपुरको सिस्नेरी पहिरोमा परी हराइरहेका ६ जनाकै शव भेटिएको छ।
इन्द्रसरोवर गाउँपालिका अध्यक्ष डीके पुडासैनीले एन्फा एकेडेमीका ६ जना विद्यार्थी हराएकोमा ६ जनाकै शव फेला परेको जानकारी दिए।
शव भेटिएका विद्यार्थीहरूमा मकवानपुरका अनुप घलान, सर्लाहीका आदित्य वलम्पाकी, काठमाडौँका रियान्स आचार्य थिए। यस्तै मकवानपुरकै सुमन योञ्जन, बाराका विकल रेग्मी, र मकवानपुरका दिवस बानियाँ छन्।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरी नजिकको वत्सलादेवी माविमा ४० जनाले फुटबल प्रशिक्षण लिइरहेका थिए।
उनीहरूमध्ये ६ जना विद्यार्थी पहिरोमा पुरिएका थिए।
बिहीबारदेखि अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेका थिए।
कुलेखानी ड्यामको ढोका खुलेपछि ती विद्यार्थीले छोटो बाटो प्रयोग गरी हिँडेका थिए।


