सुनसरी- सप्तकोसी नदीमा पानीको वहाव ६ लाख क्युसेक पुगेको छ।
भारतको पटनास्थित जल संसाधन विभागले पानीको बहाव ६ लाख क्युसेक पुगेको र अझै बढ्दो क्रममा रहेको जानकारी दिएको छ।
सप्तकोसी ब्यारेजमाथि नै नदीको पानी उक्लिएपछि पैदलयात्रीलाई समेत आवतजावतमा रोक लगाइएको छ।
पानी बढेपछि ब्यारेजका ५६ वटै ढोका खुला गरिएको छ।
ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्छ, बहाव उच्च भएपछि भारतीय पक्षले सबै ढोका खुला गरेको हो।
भारतीय पक्षले बाढी ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने खतरा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका प्रधान सचिव सन्तोषले शुक्रबार सूचना जारी गर्दै नदीमा पानीको बहाब ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्न सक्ने अनुमान रहेको बताएका थिए।
कोसी नदीसँग जोडिएका भारतको सुपौल, सहरसा, मधेपुरा, मधुवनी दरभंगा र खगडिया जिल्लाको प्रहरीलाई सतर्क रहन पनि उनले आग्रह गरिएको छ।
नदीमा पानीको बहाव १ लाख ७५ हजार क्युसेकभन्दा बढी भए खतराको संकेत गरिन्छ।
सन् १९६८ मा नदीमा हालसम्मकै उच्च ७ लाख ८८ हजार २ सय क्युसेक पानी बगेको थियो।
सन् १९८८ मा ५ लाख २३ हजार ७७१ क्युसेक पानी बहेको रेकर्ड गरिएको छ। उक्त रेकर्डलाई आजको बहावले तोडेको छ। आज ६ लाख क्युसेक पानीको बहाव छ।
ब्यारेज बनाउँदा ९ लाख क्युसेक पानीको बहाब धान्न सक्ने गरी निर्माण गरिएको निर्माण पक्षको दाबी थियो।
पछिल्लो समय नदीको माथिल्लो भागमा बालुवा थुप्रिएका कारण पानीको बहाब कम भए पनि जोखिम भने बढी हुने गरेको छ।
२०६३ भदौ २ गते १ लाख ६८ हजार क्युसेक पानी पुग्दा नै पूर्वीतट भत्किएर ७ हजार ५३६ परिवार विस्थापित भएका थिए।
५० वर्षभन्दा पुरानो कोसी ब्यारेजमा पानीको बहाब बढेसँगै नेपाल र भारत विहारका नागरिकलाई जोखिम बढ्ने गरेको छ।
एक दशक लगाएर सन् १९६२ मा निर्माण भएको कोसी ब्यारेज भारतको कोलकतास्थित जोसेफ एण्ड कम्पनी लिमिटेडले निर्माण गरेको हो।
ब्यारेज सन् १९६४ देखि पूर्ण रुपमा प्रयोगमा आउन थालेको हो।
कोसी ब्यारेजमा सुनसरीतर्फ २८ र सप्तरी तर्फ २८ गरी कुल ५६ वटा ढोका रहेका छन्।
ब्यारेजको लम्बाई एक हजार १ सय ४९ मिटर रहेको छ।


