सुनसरी- सप्तकोसी नदीमा पानीको बहाव घट्न थालेको छ। ५६ वर्षयताकै उच्च बिन्दुमा पुगेर नदीमा पानीको बहाव घट्न थालेको हो।
कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार आइतबार बिहान ६:५५ बजे ६ लाख ६१ हजार क्युसेक पुगेको पानीको बहाव पुगेको थियो। त्यसयता पानीको वहाव क्रमशः घट्दो क्रममा छ।
आइतबार बिहान ७: ४५ बजे ६ लाख ५५ हजार क्युसेक पानीको बहाव थियो। बिहान ११:२० बजे पानीको वहाव ५ लाख ८२ हजार क्युसेक पानीको बहाव छ।
यसअघि कोसी ब्यारेजमा सन् १९६८ अक्टोबर ५ तारिखमा अहिलेसम्मकै बढी पानीको बहाव मापन गरिएको थियो। त्यसबेला ७ लाख ८८ हजार २ सय क्युसेक मापन गरिएको थियो।
पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजको सबै ५६ ढोका खोलिएका छन्।
पानीको बहाव घट्दो क्रममा भएपनि कोसी ब्यारेज भएर मानिस र सवारीसाधनलाई आवागमन गर्न दिइएको छैन।

भारतको पटनास्थित जल संसाधन विभागले नदीमा पानीको वहाव ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने खतरा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो।
विभागका प्रधान सचिव सन्तोषले शुक्रबार सूचना जारी गर्दै नदीमा पानीको बहाब ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्न सक्ने अनुमान रहेको बताएका थिए।
कोसी नदीसँग जोडिएका भारतको सुपौल, सहरसा, मधेपुरा, मधुवनी दरभंगा र खगडिया जिल्लाको प्रहरीलाई सतर्क रहन पनि उनले आग्रह गरिएको छ।
नदीमा पानीको बहाव १ लाख ७५ हजार क्युसेकभन्दा बढी भए खतराको संकेत गरिन्छ। सन् १९६८ मा नदीमा हालसम्मकै उच्च ७ लाख ८८ हजार २ सय क्युसेक पानी बगेको थियो।
सन् १९८८ मा ५ लाख २३ हजार ७७१ क्युसेक पानी बहेको रेकर्ड गरिएको छ। उक्त रेकर्डलाई आइतवारको बहावले तोडेको छ। आइतबार बिहान ६ लाख ६१ हजार क्युसेक पानीको बहाव थियो।
ब्यारेज बनाउँदा ९ लाख क्युसेक पानीको बहाब धान्न सक्ने गरी निर्माण गरिएको निर्माण पक्षको दाबी थियो। पछिल्लो समय नदीको माथिल्लो भागमा बालुवा थुप्रिएका कारण पानीको बहाब कम भए पनि जोखिम बढी हुने गरेको छ।
२०६३ भदौ २ गते १ लाख ६८ हजार क्युसेक पानी पुग्दा नै पूर्वीतट भत्किएर ७ हजार ५३६ परिवार विस्थापित भएका थिए।
६२ वर्षभन्दा पुरानो कोसी ब्यारेज सन् १९६२ मा निर्माण भएको हो। भारतको कोलकतास्थित जोसेफ एण्ड कम्पनी लिमिटेडले निर्माण गरेको ब्यारेज सन् १९६४ देखि पूर्ण रुपमा प्रयोगमा आउन थालेको हो।
कोसी ब्यारेजमा सुनसरीतर्फ २८ र सप्तरी तर्फ २८ गरी कुल ५६ वटा ढोका रहेका छन्।
ब्यारेजको लम्बाई एक हजार १ सय ४९ मिटर रहेको छ।


