काठमाडौँ- बिहीवारयताको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका घटनामा परी बागमती प्रदेशमा मात्रै ११३ जनाको मृत्यु भएको छ।
गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६८ जनासहित बागमती प्रदेश ११३ जनाको मृत्यु भएको छ।
कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको समेत मन्त्रालयले जानकारी दिएको छ। यसरी समग्र देशमा हालसम्म १३२ जनाको मृत्यु भएको पुष्टि भएको छ।
विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन्। सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट ३ हजार ६२६ जनाको सकुशल उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ।
नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहानदेखि हालसम्म काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट बाढी, पहिरो तथा प्राकृतिक जोखिममा परेको १९३ जनाको सकुशल उद्धार गरिएको छ।
नेपाली सेनाको टोली बढी जोखिममा फसेका नागरिकहरुको उद्धारका लागि दुई दिनदेखि हवाई उद्दार गरिरहेको छ।
विपद्का कारण राजमार्ग अवरुद्ध रहेका सडक सुचारु गर्न सबै संयन्त्रहरु परिचालन गरिएको गृहप्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।
प्रभावित क्षेत्रमा नागरिकको उद्दार, राहत तथा घाइतेहरुको उपचारका लागि अस्पताल पुर्याउने लगायतका कार्यमा सुरक्षाकर्मीहरु सक्रिय भएर लागि परेका छन्।


