काठमाडौँ— अविरल वर्षाका कारण देशभर आएका बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ७० पुगेको छ। प्रारम्भिक तथ्याङ्कअनुसार प्रकोपले ३ हजारभन्दा बढी घर क्षतिग्रस्त भएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको आइतबार रातिसम्मको तथ्याङ्कअनुसार सबैभन्दा बढी धादिङमा ३८ जनाले ज्यान गुमाएका छन्। काभ्रेमा ३४, ललितपुरमा ३०, काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १० र मकवानपुरमा ७ जनाको मृत्यु भएको छ।
भक्तपुर, पाँचथर, दोलखा र सोलुखुम्बुमा ५/५, झापा, धनकुटा, महोत्तरी, सिन्धुली र रौतहटमा २/२ तथा सप्तरी, उदयपुर, रामेछाप र इलाममा १/१ जनाको मृत्यु भएको छ । सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत प्रमुख सेनानी (कर्णेल) मिलन केसीले पनि पहिरोमा परी ज्यान गुमाएका छन्। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४, बिमरेनी जंगल नजिकै सिन्धु बिच रिसोर्टमा रहेका बेला केसीलाई शनिबार पहिरोले पुरेको हो।
धादिङको धुनिबेंसी–९, झ्याप्ले खोला खण्डमा मात्र पहिरोले बस र माइक्रोबस पुर्दा ३५ जनाको मृत्यु भएको छ। झ्याप्ले खोलामा पुरिएका सवारीसाधनमध्ये बुटवलबाट काठमाडौं आउँदै गरेको लु१ज ४५७८ नम्बरको माइक्रोबसबाट शनिबार १४ जनाको शव निकालिएको थियो।
चितवनबाट काठमाडौंका लागि छुटेको बा३ख १३१५ नम्बरको माइक्रोबसमा सवार १६ र गोरखाबाट काठमाडौं आउँदै गरेको ना४ख २२७० नम्बरको बसमा सवार ५ जनाको शव आइतबार निकालिएको छ। ती शव नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले निकालेको हो।
बुटवलबाट आएको माइक्रोबसमा ८ पुरुष, ५ महिला र एक बच्चा, चितवनबाट आएको माइक्रोबसमा १२ पुरुष र ४ महिला तथा गोरखाबाट आएको बसमा रहेका ५ पुरुषको शव निकालिएको छ।
बेपत्ताहरूको शव फेला पर्ने क्रम जारी रहेकाले मृतकको कुल संख्या अझै बढ्ने अनुमान छ। अहिलेसम्म करिब ४२ जना बेपत्ता छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले विपद्मा फसेका ३ हजार ६ सय ९५ जनाको सकुशल उद्धार गरेका छन् । उद्धार गरिएका मध्ये घाइते १ सय ११ जनाको विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयका एसएसपी विश्व अधिकारीले जानकारी दिए।


