बाग्लुङः ‘सहकारीमा समस्या आएदेखि नै मैले निजी सम्पती बेचेर भए पनि रकम फिर्ता गर्छु भनिरहेको छु’ सहकारी ठगी अभियोगमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले भनेका छन्, ‘अहिले पनि मेरो भनाइ त्यही हो। व्यवस्थापनका कारण बचनकर्ताको रकम हिनामिना भएको हो। फिर्ता गर्ने हो।’
जिल्ला अदालत बागलुङमा सोमबार भएको बयानका क्रममा मेयर नेपालीले यस्तो भनेका हुन्। जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासमा मेयर नेपालीले सहकारी ठगीका विषयमा बयान दिएका हुन्।
मेयर नेपालीले पोखरा र बागलुङमा छुट्टाछुट्टै इमेज बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरेका थिए। यी दुई जिल्लामा सञ्चालित उक्त सहकारीबाट सर्वसाधारण बचतकर्ताको २ अर्ब बढी अपचलन भएको आरोप छ।
भारतको दिल्लीमा पक्राउ परेका नेपालीलाई आइतबार बागलुङ लगिएको थियो। बयान सकिएसँगै भोलि उनलाई कारागार पठाउने कि तारेखमा रिहा गर्ने भनेर थुनछेक बहस हुनेछ।
