काठमाडौँ- साहित्यकार, कवि तथा गायक गणेश रसिकलाई ३० वटा संस्थाले एकैपटक सम्मान गरेका छन्।
काठमाडौँमा एक समारोहका बीच उनलाई सम्मान गरिएको हो।
भोजपुर जिल्लासँग जोडिएका ३० भन्दा बढी सङ्घसंस्थाले उनलाई अभिनन्दन गरेका हुन्।
कार्यक्रममा उनको योगदानका विषयमा साहित्यकारले लेखेका लेखहरूलाई समेटेर तयार पारिएको ‘गणेश रसिक: अभ्यार्थना ग्रन्थ’ को विमोचन गरिएको थियो।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई अभिनन्दन गरेकी थिइन्। उक्त ग्रन्थको विमोचन पनि भण्डारीले गरिन्।
भोजपुरे सेवा समाज काठमाडौँको आयोजना तथा एम्बिसन एकेडेमी काठमाडौँको सहआयोजनामा भएको समारोहमा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले रसिकको साहित्यक र साङ्गीतिक सामाजिक पक्ष समाजका लागि महत्त्वपूर्ण रहेको स्मरण गरिन्।
जनबोली र प्रकृतिका सुसेलीलाई टिपेर उनले रचना गरेका र सङ्गीत दिएका गीतहरू देशको धड्कनका रूपमा प्रतिविम्बित भएको बताइन्।
राष्ट्र, राष्ट्रियता र आमनागरिकका पक्षमा सिर्जित उनका सिर्जना रैथाने स्वादका र कालजयी रहेको पनि पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ।
‘उहाँ राष्ट्रका मानव सम्पदा पनि हुनुहुन्छ,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘देश र समाजलाई उहाँले दिनुभएको योगदानका बारेमा लेखकले लेखेका लेख समावेश गरी ग्रन्थ प्रकाशन गर्नु खुसीको कुरा हो, यसले उहाँका जीवनका आरोहअवरोधका साथै समाज र राष्ट्रलाई दिनुभएको योगदान आमपाठक माझ पुर्याउने छ।’
साहित्यकार गणेश रसिकले यो सम्मान तथा अभियन्दनका लागि आफू लायक रहेनरहेको थाहा नभएको तर यसरी अभिनन्दन गर्दा सबैप्रति आभारी रहेको प्रतिक्रिया दिए।
आफू बिरामी भएर थला परेको जानकारी दिँदै उनले अहिले पनि उपचार जारी रहेको बताए। उनको प्रोस्टेट क्यान्सरको उपचार जारी छ।
अभिनन्दन समारोहमा भोजपुरे सेवा समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाले साहित्यकार रसिकले समाज र राष्ट्रलाई सङ्गीत दिएर, कृति लेखेर महत्त्वपूर्ण योगदान दिएको बताए। उनले साहित्यकार रसिकले गीतसङ्गीत मात्रै नभएर कुशल प्रशासक र समाजसेवीका रूपमा आफूलाई उभ्याएको बताए।
पूर्वअर्थमन्त्री एवं साहित्यकार शङ्कर कोइराला र सङ्गीतकार बुलु मुकारुङले साहित्यिक तथा साङ्गीतिक क्षेत्रमा रसिकले पुर्याएको योगदानबारे चर्चा गर। उक्त ग्रन्थको सम्पादन साहित्यकार सुदर्शन श्रेष्ठ र शशी लुमुम्बुले गरेका हुन्।


