एनसेल फाउन्डेसनले प्रदेशस्तरमा सञ्चालन गरिरहेको सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूअन्तर्गत सोमबार कपिलवस्तु नगरपालिका– ९, निग्लिहवामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्यो। उक्त शिविरमा ४ सयभन्दा बढी बिरामीहरू लाभान्वित भएको फाउन्डेसनले जनाएको छ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरूले मुटु रोग तथा स्त्री रोगसम्बन्धी विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञसँग परामर्शलगायत ईसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए। बिहान १० बजेदेखि सुरु भएको शिविरमा आएका मानिसहरूले परामर्शअनुसारको आवश्यक निःशुल्क औषधिहरू पनि पाएका थिए।
यस्ता स्वास्थ्य शिविरले स्वास्थ्यसम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरूका साथ समस्यासँग जुध्न मद्दत गर्दछ। एनसेल फाउन्डेसनले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा सञ्चालन गरेको यो तेस्रो निःशुल्क स्वास्थ्य शिविर हो।
यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका र वाणगंगा नगरपालिकामा यस किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो। यसका साथै एनसेल फाउन्डेसनले कपिलवस्तुका अन्य २ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ।
‘नेपालका दुर्गम क्षेत्रहरूमा स्वास्थ्य सेवाको पहुँच पुर्याउँदै स्वस्थ नेपाल बनाउने हाम्रो उद्देश्यअनुरुप एनसेल फाउन्डेसनले यो स्वास्थ्य शिविर आयोजना गरेको हो। हामीले समुदायका मानिसहरूका लागि फाइदा हुने काम गर्न सधैँ प्रतिबद्ध छौँ। यसैअनुरुप हामीहरूले सातै प्रदेशमा विभिन्न स्थानीय समुदायका मानिसहरूलाई ध्यानमा राख्दै विभिन्न ग्रासरुटस्तरका सामाजिक विकासका कार्यहरू गर्दै आएका छौँ। हाम्रा परियोजनाहरूले समुदायको विकासका लागि योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौँ,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन्।


