काठमाडौँ- बाढीपहिरोपछि संक्रामक रोग फैलन सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। सरोकारवालाहरूले यस विषयमा जोखिम रहेको कुरा बताएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सर्वपक्षीय छलफल गरेका छन्।
संक्रामक रोग फैलन नदिन सतर्कताका उपाय अपनाउन तीनवटै तह, खानेपानी मन्त्रालय तथा खानेपानीसम्बद्ध निकायसँग मन्त्रीले छलफल गरेका हुन्।
पानीका स्रोत प्रदुषित भएकाले झाडापखाला, हैजा तथा डेंगुलगायतका संक्रामक रोग लाग्न सक्ने मन्त्रालयको पूर्वानुमान छ।
विपद्का समयमा स्वास्थ्यकर्मीहरुले पुर्याएको योगदानको प्रशंसा गर्दै मन्त्री पौडेलले भने, ‘स्वास्थ्यकर्मीहरुले विपद्का समयमा बिरामीको उपचारका लागि पुर्याएको भूमिका सराहनीय छ। अब यसपछि फैलन सक्ने रोगबाट नागरिकलाई जोगाउन लाग्नुहोला। आवश्यक केही परे भन्नुस्, हामी सघाउन तयार छौं।
उनले खानेपानीको शुद्धता बढाउन र कुनै पनि संक्रामक रोग फैलन नदिन स्थानीय तहसम्मै खानेपानी मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए।
बैठकमा बोल्दै खानेपानी मन्त्री प्रदीप यादवले पानीको शुद्धता बढाएर नागरिकलाई शुद्ध पानी दिनका लागि शुद्धीकरण सामग्री वितरण तथा सचेतनाका लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्ने घोषणा गरेका थिए।
बैठकमा बाढी पहिरोबाट बढी प्रभावित प्रदेशहरूका स्वास्थ्य सचिवहरुले आफूहरुले प्रदान गरिरहेको सेवाबारे जानकारी गराएका थिए।
काठमाडौँ उपत्यकामा जनसंख्या पनि बढी रहेको र अहिले संक्रमणको जोखिम बढी रहेकाले प्राथमिकता दिएर संक्रमण रोक्न सचेतनासँगै रोकथामका उपाय अपनाइने बताए। यसका लागि प्रदेश र महानगरहरुसँग हातेमालो गर्ने पनि उनले बताए।
ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले बाढीका कारण खानेपानी प्रदुषित भएकाले आफूहरुले ट्यांकरबाट किनेरै क्लोरिनेसन गरेर पानी वितरण गरेको बताए।
बैठकमा मन्त्रालयका सचिव डा रोशन पोखरेलले मन्त्रीज्यूको निर्देशनअनुसार तत्काल बैठक डाकेर आवश्यक ठाउँमा थप स्वास्थ्य सामग्री पठाउने र सचेतना तथा संक्रमण रोक्न नदिन आवश्यक थप कदमहरु चाल्ने प्रतिबद्धता जनाए।


