काठमाडौंँ- बाढीपहिरो र डुबानका कारण भत्किएका २९ वटा रागमार्गमा गाडी चल्न थालेका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गएर सडक अवरुद्ध भएकोमा ७ सय ७४ स्थानको पहिरो हटाइएको जनाएको हो।
‘अझैसम्म ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात संचालन गर्न अनवरत प्रयास जारी छ,’ मन्त्रालयले जारी गरेको प्रेस नोटमा भनिएको छ।
अरनिको राजमार्ग, बीपी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कान्ति राजपथ र मेची राजमार्ग पूर्ण रुपमा बन्द छन्।
यसका लागि कतिपय स्थानमा पहिरो हटाउनुका अतिरिक्त कटिङ, फिलिङ टेवा पर्खालका साथै ह्युमपाइप र अस्थायी प्रकृतिको बेलिब्रिज समेत राखी यातायात सञ्चालन गर्नुपर्ने अवस्था रहेको मन्त्रालयले जनाएको छ।
सडक तथा पुललाई अस्थायी रुपमा चलाउन मात्र ३ अर्ब लाग्ने मन्त्रालयको प्रारम्भिक अनुमान छ। क्षति भएका सम्पूर्ण संरचना स्थायी रुपमा तयार पार्न २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।




