काठमाडौँ- सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले गुल्मीको रेसुंगा विमानस्थलमा आजदेखि नियमित उडान सुरु गरेको छ। शुक्रबार नेवानिको नाइनएन एबिटी कल साइनको जहाजले रेसुंगाका लागि व्यावसायिक उडान गरेको हो।
काठमाडौँबाट रेसुंगा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा उडेको जहाजमा चालक दलका सदस्यबाहेक १३ जना यात्रु थिए। रेसुंगा विमानस्थलमा अवतरण भएपछि उक्त जहाज १४ यात्रु बोकेर ७ बजेर ४५ मिनेटमा काठमाडौं फर्किएको छ। नेवानि जहाजले अबदेखि रेसुंगा विमानस्थलमा साताको २ दिन मंगलबार र शुक्रबार उडान भर्नेछ।
काठमाडौँबाट रेसुंगा विमानस्थलसम्मको दूरी ५० मिनेटको छ। रेसुंगा विमानस्थल गुल्मीको रेसुंगा नगरपालिका–१० सिमीचौरमा पर्छ।
यसअघि रेसुंगा विमानस्थल सञ्चालन नहुँदा जिल्लाबासी रुपन्देहीको भैरहवासम्म गाडीमा र त्यहाँबाट हवाई जहाज चढेर काठमाडौं आउजाउ गर्ने गरेका थिए।
रेसुंगा–काठमाडौं हवाई भाडा प्रतिव्यक्ति ६ हजार ३ सय र काठमाडौं–रेसुंगा हवाई भाडा प्रतिव्यक्ति ६ हजार ५ सय भाडा तोकिएको छ।
