काठमाडौँ- परराष्ट्रमन्त्री डा आरजु राणा देउवा स्वदेश फर्किएकी छिन्। कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसीडी)को तेस्रो सम्मेलनमा सहभागी हुँदै राणा शुक्रबार अपराह्न स्वदेश फर्किएकी हुन्।
यसअघि राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीको बैठक र अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भएर कतार आएकी थिइन्।
आफ्नो विदेश भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी भित्र्याउने काममा फलदायी रहेको परराष्ट्रमन्त्री राणाको दाबी छ।
‘कतारमा एसियन कोअपरेटिभ डाइलग थियो। त्यसमा २ वटा विषय थिए– एआई र एसियाली देशमा भएको युद्धको विषयमा कुराकानी भयो। त्यसमा अन्तर्राष्ट्रिय जगतले नै चासो देखायो,’ उनले भनिन्, ‘अनि त्यहाँ खेल कूटनीतिको पनि कुरा भयो। त्यसमा मैले नेपालमा माउन्टेरिङ र वाटर र्याफ्टिङको ठूलो सम्भावना भएको कुरा उल्लेख गरेँ। हामी त्यसमा लिडरसिप लिन सक्छौँ भन्ने कुरा राखेर आएकी छु।’
कतारमा आयोजित सम्मेलनमा एसीडी सम्मेलदनको क्रममा परराष्ट्रमन्त्री राणाले विभिन्न देशका समकक्षीहरूसँग द्विपक्षीय हितका विविध विषयमा छलफल गरेकी थिइन्।
विभिन्न फोरमहरूमा जलवायु परिवर्तनले गरेर देशमा हुने विनाशको बारे धेरै कुराहरु उठाएको जानकारी दिइन्। अन्तर्राष्ट्रिय जगतबाट हेर्दा नेपालको स्थिति खत्तमै भयो भन्ने भाष्य गलत प्रमाणित गरेको उनको भनाइ थियो।
‘जलवायु परिवर्तनले गरेर हाम्रो देशमा हुने विनासको बारेमा धेरै कुराहरु उठायौं। र अन्तर्राष्ट्रिय जगतबाट हेर्नुपर्दा नेपालको स्थिति केही पनि भएन, खत्तमै भयो देश भनिन्छ त्यस्तो चाँहि होइन रहेछ,’ उनको भनाइ थियो।
भदौ ३१ गते राणा नेपालबाट क्यानडाका लागि प्रस्थान गरेकी थिइन्। क्यानडाको टोरोन्टोमा असोज ३ र ४ (सेप्टेम्बर १९ र २०) गते महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा उनी सहभागी भएकी थिइन्।
बैठकमा विश्वका १५ भन्दा बढी देशका महिला परराष्ट्रमन्त्री सहभागी थिए।
क्यानडापछि संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा महासभामा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उनी सम्मिलित भएर कतार आएकी थिइन्।


