पाल्हीनन्दन- पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि ट्रकलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
गएराति बर्दघाट‐४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै सडक भासिएपछि ट्रक चलाउन नपाइने भएको हो।
सडक मर्मतपश्चात् शनिबार बिहानदेखि एकतर्फी सञ्चालनमा आए पनि हाल यात्रुबाहक बस र साना सवारीसाधलाई मात्र आवतजावत गर्न दिइएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिए।
मर्मत गरिए पनि सडक भासिने जोखिम कायमै रहेकाले ट्रक, टिप्परजस्ता ठूला सवारीसाधन आवतजावत गर्न रोक लगाइएको उनको भनाइ छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानप्रसाद फुयालले दाउन्ने सडक अहिले पनि पूर्ण रूपमा सञ्चालनमा नरहेको र सडक मर्मत कार्य भइरहेको जानकारी दिए।
