२०८३ कार्तिक १३ गते बिहिबार

हमास आक्रमणको एक वर्ष पूरा, कहाँ छन् विपीन जोशी?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २०
bipin joshi

काठमाडौँ- इजरायलले आफ्नो भूमिमा प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासले अक्टोबर ७ मा गरेको आक्रमणको बर्ष दिनको पूर्वसन्ध्यामा शनिबार आफ्ना सेनालाई तयारी अवस्थामा राखेको छ।

इजरायली सैन्य अधिकारीले इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदला लिने तयारी गरिरहेको बताएका छन्।

इजरायलले लेबनानी समूह हिजबुल्लाहसँग युद्ध चर्किरहेका बेला सैन्य प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हालेभीले ‘कुनै छुट वा राहत बिना’ आक्रमण हुने बताएका छन्।

सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हेगारीले अगस्ट ७ को भयानक वर्षगाँठको पूर्वसन्ध्यामा टेलिभिजनमा प्रसारण गरिएको ब्रिफिङमा भने, “हामी यस दिनको लागि थप सेनाको साथ तयार छौं।”

अक्टोबर ७ मा प्यालेस्टिनी समूहले इजरायलमाथि एक्कासी गरेको आक्रमणमा परी एक हजार २०५ जनाको मृत्यु भएको थियो। आक्रमणमा अधिकांश सर्वसाधारणको मृत्यु भएको थियो।

सोही आक्रमणमा नेपालका १० जनाको मृत्यु भएको थियो भने नेपाली युवा विपीन जोशीको अवस्था अझसम्म पनि अज्ञात छ।

हालै भएको संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको रिहाइका लागि सहगोग गरिदिन आग्रह गरेकी छन्।

असंलग्न राष्ट्रहरूको संगठन नामको मन्त्रिस्तरीय बैठकलाई सोमबार न्युयोर्कमा सम्बोधन गर्दै मन्त्री राणाले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराएकी हुन्।

नेपाल विपीन जोशीको स्वागतका लागि व्यग्र प्रतीक्षामा रहेको भन्दै यसका लागि विश्व समुदायको सहयोगको उनले आग्रह गरेकी हुन्।

उक्त हिंसात्मक आक्रमणमा परी अरू पनि कैयौँ मानिस मारिएका थिए।

 

नेपाल सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको उनले बताइन्। सम्बोधनका क्रममा मन्त्री राणाले विश्वमा हाल शान्ति स्थापनाको लागि सामूहिक पहलको खाँचो रहेको बताइन्।

विभिन्न नाम र बहानामा विश्वका कैयौँ ठाउँमा अहिले पनि युद्व, विद्रोह तथा हिंसाजन्य कार्य भइरहेकाले हत्या हिंसाको अन्त्य र शान्तिको स्थापनाका लागि विश्वले नै सामूहिक पहल गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो।

‘मलाई लाग्छ- दोस्रो विश्वयुद्धपछि अहिले विश्वका धेरै स्थानमा द्वन्द्व बढेको छ। त्यसैले इतिहासकै अत्यन्त जटिल मोडमा हामी उभिएका छौँ र सशस्त्र द्वन्द्वबाट नागरिकहरुको रक्षाको लागि उच्च प्राथमिकताका साथ काम गर्नु परिरहेको छ,’ उनले भनिन्।

मन्त्री राणाले अहिले पनि विश्वका देशहरू निरन्तर रुपमा जारी रहेका यस्ता द्वन्द्व रोक्न, युद्धबाट सृजित समस्याहरूको समाधान खोज्न र नागरिकमा शान्ति र अमनचयन कायम गर्न चुकेको अवस्था देखिएको पनि बताइन्।

‘हामीहरु जेनेभा कन्भेन्सनको ७५ औँ वर्षमा छौँ तर पनि नागरिकहरुको रक्षाका लागि सो कन्भेन्सनले आत्मसात गरेका सिद्धान्तहरुलाई नदेखेझैँ गरी बेवास्ता गरिरहेका छौँ या कतै गलत व्याख्याका प्रयास पनि गरिरहेका छौँ। यस्तो अवस्थाको छिट्टै अन्त्य हुनुपर्छ र हामीहरू सबै शान्तिपूर्ण सहअस्तित्वका साथ अघि बढ्नुपर्छ,’ उनले भनिन्।

परराष्ट्रमन्त्री राणाले गाजामा नागरिकहरूको मृत्यु र यसको संख्या सुन्दा र देख्दा हृदयविदारक रहेको तथा रूस, युक्रेन युद्धमा नागरिकहरुले पाइरहेको दुःख पनि त्यस्तै रहेको भन्दै यस्ता हिंसाजन्य कार्य तत्कालै रोकेर समस्याको शान्तिपूर्ण निकास खोज्न आग्रह गरेकी छन्।

यस्ता कार्यले कसैलाई पनि न्याय गर्न नसकेकोतर्फ सबै सचेत हुनुपर्ने उनले बताइन्।

नेपाल गाजामा नागरिक, पत्रकार, राष्ट्रसङ्घीय कर्मचारी, स्वास्थ्यकर्मी तथा सबै सर्वसाधारण नागरिकको हत्या, पूर्वाधारहरू माथिको आक्रमणको निन्दा गर्दछ भन्दै त्यहाँ अस्पताल, निजी घरहरू, विद्यालय आदिको क्षतिले मानिसहरूलाई डर र त्रासमा बस्न वाध्य पारिएकाले यस्ता कार्य तत्कालै रोक्न पनि उनले माग गरेकी छन्।

मन्त्री राणाले इजरायल र प्यालेष्टिन, रुस युक्रेन होस् या अन्य यस्ता प्रकारका द्वन्द्वहरुको समाधान रचनात्मक तरिकाबाट खोज्न र हिंसा अन्त्यका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध पनि गरेकी छन्।

मन्त्री राणाले नेपाल असंलग्न अभियानको एक प्रतिवद्ध सदस्य राष्ट्र रहेकाले सबै देशहरू बीच शान्तिपूर्ण सहअस्तित्वका आधारमा सहकार्य गरी अघि बढ्ने धारणा राख्दै शान्ति र सहअस्तित्वका लागि एक हुन विश्व समुदायलाई अपिल गरेकी छन्।

बढ्दै संकट, विस्तार हुँदै युद्ध
हमास आक्रमण लगत्तै इजरायलले कारबाही थालेको पनि एक वर्ष भएको छ। एक वर्षपछि पनि गाजामा युद्ध जारी छ भने इजरायलले आफ्नो ध्यान लेबनान र इरान समर्थित हिजबुल्लाहतर्फ केन्द्रित गरेको छ।

लेबनानको हिजबुल्लाहविरुद्ध इजरायली सेनाले ‘लक्षित’ कारबाही सुरु गरेयता ‘जमिनी र हवाई’ आक्रमणमा करिब ४४० हिजबुल्लाह लडाकू मारिएको बताएको छ।

इजरायलले आफ्नो देशको उत्तरी क्षेत्रमा हिजबुल्लाहको रकेट आक्रमणका कारण विस्थापित भएका हजारौं नागरिकलाईस्वदेश फर्कन दिने लक्ष्य राखेको जनाएको छ।

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले मध्यपूर्वका सशस्त्र समूहलाई समर्थन गर्ने तेहरानले इजरायलमा करिब २०० क्षेप्यास्त्र प्रहार गरेपछि इरानबाट ‘खतरा’ रहेको बताए।

इजरायल-हमास युद्ध तत्काल रोक्न युद्ध विराम गरिनुपर्ने बेलायत, जर्मनी र फ्रान्सले बताएका छन्। बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले इजरायल र हमासबीचको एक वर्ष लामो द्वन्द्व अन्त्य गर्न सबै पक्ष संयमित बन्नुपर्ने र गाजामा युद्ध विराम गरिनुपर्ने बताएका छन्।

गाजा युद्धको प्रभावले बेलायतमा पनि सामुदायिक सम्बन्धमा असर पारेको उनले बताए। उनले युद्ध विरामको विकल्प नरहेको बताए। प्यालेस्टिनी लडाकू समूहले अक्टोबर ७ मा इजरायलविरुद्ध गरेको अकल्पनीय आक्रमणको एक वर्ष पुग्नुभन्दा एक दिन अगाडि आफ्नो धारणा राख्दै स्टार्मरले सन्डे टाइम्समा लेखेका छन्, ‘यसले हाम्रो आफ्नै समुदायमा पनि विवाद सिर्जना गरेको छ।’

‘इजरायल र मध्यपूर्व हाम्रो देशको इतिहासबाट अविभाज्य मात्र होइनन्। उनीहरूको हाम्रो बहुसांस्कृतिक समाजसँग गहिरो सम्बन्ध छ’, स्टार्मरले भने, ‘लाखौँको यस क्षेत्रसँग पारिवारिक सम्बन्ध छ।’ अक्टोबर ७ मा भएको आक्रमणपछि इजरायलले गाजा पट्टीमा निरन्तर बमबारी गर्दै आएको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासले प्यालेन्टाइनबाट इजरायलतर्फ गरेको आक्रमण। तस्बिर : हाटेम मुसा

पछिल्लो दुई हप्तामा लेबनानमा इजरायलले हमासको इरान समर्थित लडाकू समूह हिजबुल्लाहविरुद्ध गरेको आक्रमण र इरानले इजरायलमाथि प्रहार गरेको ब्यालेस्टिक क्षेप्यास्त्रका कारण द्वन्द्व थप चर्किएको छ।

स्टार्मरले ‘इरानी आक्रमणको सामना गर्न बेलायत इजरायलको साथमा उभिने’ बताए पनि उनले ‘अर्को पुस्तालाई आघात, अनाथ र विस्थापित गरेर राम्रो भविष्यको सुनिश्चितता नहुने बताए। ‘अक्टोबर ७ को आक्रमणको वर्षगाँठले हामीलाई राजनीतिक असफलताको मूल्यको सम्झना दिलाउनुपर्छ’, उनले भने, ‘ठूलो अस्थिरतामा कुनै सुरक्षा फेला पर्नेछैन।’ गत वर्ष हमासले गरेको आक्रमणमा परी एक हजार २०५ जनाको मृत्यु भएको थियो।

इजरायलले गाजामा हमासविरूद्ध चलाएको जवाफी कारबाहीमा गाजामा कम्तीमा ४१ हजार ८७० जनाको मृत्यु भएको छ। दुवै पक्षको आक्रमणमा ज्यान गुमाएका व्यक्तिमध्ये अधिकांश सर्वसाधारण थिए।

हमासको आक्रमणको एक वर्षको पूर्वसन्ध्यामा लन्डनलगायत विश्वभरि युद्ध विराम गर्न दबाब दिन विश्वका अधिकांश प्रमुख सहरहरूमा प्रदर्शन गरिएको छ। पछिल्लो एक वर्षमा बेलायतमा यहुदी र मुस्लिम समुदायविरुद्ध ‘घृणित हिंसा’ बढेको भन्दै स्टार्मरले भने, ‘हाम्रो भिन्नता र विविधताले हामीलाई अलग्याउने होइन अझ बलियोसँग बाँधेर राख्नुपर्छ।’

बेलायतस्थित धार्मिक सङ्घसंस्था तथा तीनका नेताहरूले पनि आइतबार सन् २०२४ को अगस्ट ७ ९आक्रमणको एक वर्ष पुगेको दिन० जनताका लागि ‘सबै प्रकारका पूर्वाग्रह र घृणा’ लाई अस्वीकार गर्ने अवसर हुनुपर्ने बताएका छन्।

क्यान्टरबरीका आर्कबिशप जस्टिन वेल्बी, प्रमुख रब्बी एप्रैम मिरविस र मस्जिद र इमामहरूको राष्ट्रिय सल्लाहकार बोर्डका अध्यक्ष इमाम कारी असिमले एक संयुक्त पत्र लेख्दै भनेका छन् कि उनीहरू ‘सर्वसाधारण इजरायली र गाजाबासीको दुःखलाई अन्त्य गर्न ऐक्यबद्ध छन्।

संयुक्त पत्रमा भनिएको छ, ‘यो चुनौतीपूर्ण समयमा हामीलाई विभाजन गर्न खोज्नेहरूलाई पनि हामीले अस्वीकार गर्नुपर्छ। यहुदी विरोधी घृणा र मुस्लिम विरोधी घृणाको आज बेलायतमा कुनै स्थान छैन।’
जर्मनी गाजा युद्धको सोमबार एक वर्ष पुग्ने र यसको पूर्वसन्ध्यामा आइतबार फेरि जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युद्ध विरामको आह्वान गरेका छन्।

‘दुर्भाग्यवश, इजरायलमा हमासले गरेको आतङ्ककारी आक्रमणको यो पहिलो वर्षगाँठमा मध्यपूर्वमा शान्ति वा मेलमिलाप पहिलेभन्दा धेरै टाढा देखिन्छ,’ स्कोल्जले एक भिडियो सन्देशमा भने।
जर्मन सरकारले युद्ध विरामका लागि निरन्तर वकालत गरिरहेको छ। उनले भने, ‘द्वन्द्वरत पक्षले अब अरू ढिला गर्नुहुन्न युद्ध विरामको घोषणा गरिहाल्नुपर्छ ताकि गाजा पट्टीमा नागरिक जनसङ्ख्यालाई अझ राम्रो संरक्षण गर्न सकियोस् र निःसन्देह, अझ राम्रो हेरचाह गर्न सकियोस् र इजरायली बन्धकहरूलाई रिहा गर्न सकियोस्।’

फ्रान्स
यसअघि, शनिबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले इजरायललाई गाजामा प्रयोग गर्नका लागि हतियार वितरणमा रोक लगाउन आह्वान गरेका थिए। म्याक्रोँले लेबनानमा स्थल कारबाहीका लागि नेतन्याहूले सेना पठाउने निर्णयको पनि आलोचना गरेका थिए।

म्याक्रोंले फ्रान्सेली प्रसारक फ्रान्स इन्टरसँग भने, ‘मलाई लाग्छ आजको प्राथमिकता भनेको हामी राजनीतिक समाधानमा फर्कनु हो र हामीले गाजामा लड्नका लागि हतियार आपूर्ति गर्न बन्द गर्छौँ।’ युद्ध विरामका लागि पटक-पटक आह्वान गरिए पनि गाजामा जारी द्वन्द्वप्रति म्याक्रोँले चिन्ता व्यक्त गरेका छन्। उनले भने, ‘मलाई लाग्छ हाम्रो कुरा सुनिएको छैन। मलाई लाग्छ यो इजरायलको सुरक्षासहित गल्ती हो। युद्धले ‘घृणा’ निम्त्याइरहेको छ।

इजरायल
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो कार्यालयद्वारा जारी विज्ञप्तिमा भनेका छन्, ‘इजरायलले इरानको नेतृत्वमा बर्बरताविरुद्ध लडिरहेको अवस्थामा सबै सभ्य देशहरू इजरायलको पक्षमा दृढताका साथ उभिनुपर्छ।’

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति म्याक्रोँ र अन्य पश्चिमा नेताहरूले अहिले इजरायलविरुद्ध हतियार प्रतिबन्धको माग गरिरहेका छन्। यो निर्णयले उनीहरूलाई लज्जित पार्नेछ।’ इजरायलले इरान समर्थित समूहविरुद्ध विभिन्न मोर्चामा युद्ध लडिरहेको विज्ञप्तिमा उल्लेख छ।

‘इरान जस्तोसुकै इजरायली हमलाको जवाफ दिन तयार छ’
इरानले सम्भावित इजरायली आक्रमणको जवाफ दिने योजना तयार पारेको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ।

‘इजरायलद्वारा सम्भावित आक्रमणको आवश्यक प्रतिक्रियात्मक योजना पूर्ण रूपमा तयार गरिएको छ,’ सशस्त्र सेनाको सुचना उद्धृत गर्दै तस्निम समाचार एजेन्सीले बताएको छ।

इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी)ले मङ्गलबार तेहरानसँग सम्बद्ध समूहका नेताहरू आक्रमणमा मारिएको प्रतिशोधमा इजरायलमा करिब २०० वटा मिसाइल आक्रमण गरेको थियो।

‘यदि इजरायलले आक्रमण गर्‍यो भने इरानले प्रतिआक्रमण गर्नेछ भन्नेमा कुनै शङ्का हुनेछैन,’ तस्निमले जनायो।

बेरुतमा इजरायली हवाई आक्रमणमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह र आइआरजिसीका शीर्ष जनरल अब्बास निलफोरोसन हत्याको बदलामा मंगलबार इरानले इजरायलमाथि दोस्रो प्रत्यक्ष मिसाइल आक्रमण गरेको हो।

विदेशमन्त्री अब्बास अराघचीले शनिबार इजरायली आक्रमणको बदलामा इरानले आनुपातिक वा अझै कडा प्रतिक्रिया दिनसक्ने चेतावनी दिएका थिए। इरानको तेल सुविधा जस्ता महत्त्वपूर्ण स्थललाई लक्षित गर्ने सम्भावित इजरायली हवाई आक्रमणको चिन्ताका बीच इरानका तेलमन्त्री मोहसेन पाकनेजादले आइतबार खार्ग टापूमा रहेको एउटा तेल सुविधाको भ्रमण गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई विश्वको १० सबैभन्दा ठूलो तेल उत्पादकमध्ये एक इरानको तेल साइटलाई लक्षित आक्रमण नगर्न सल्लाह दिएका छन्।

सिरियामा पनि आक्रमण
सिरियाको मध्य प्रान्त होम्समा रहेको इरानी अटोमोबाइल कारखानामा आइतबार तीनवटा इजरायली क्षेप्यास्त्रले प्रहार गरेको सिरियन मानव अधिकार संस्थाले जनाएको छ।

इजरायलले होम्सको दक्षिणी ग्रामीण इलाकामा रहेको हस्या औद्योगिक क्षेत्रस्थित कारखानामा हवाई आक्रमण गरेको हो। आक्रमणको समयमा कारखाना खाली भएकाले आक्रमणको कारण पुष्टि हुनसकेको छैन।

सिरियाको सरकारी टिभीले हस्याको एउटा कारखानाबाट विस्फोटको आवाज सुनिएको र कारण पत्ता लगाउन अनुसन्धान भइरहेको बताएको छ। इजरायलले इरान र लेबनानको हिजबुल्लाहसँग जोडिएका स्थानलाई लक्षित गर्दै सिरियामा बारम्बार हवाई आक्रमण गरिरहेको छ।

प्रकाशित: २०८१ असोज २० गते आईतबार ०७:५६
प्रतिक्रिया

थप समाचार

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना