कमलामाई (सिन्धुली)- सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री सिन्धुली आइपुगेका छन्।
गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली मंगलबार बिहान खुर्कोट आइपुगेका हुन्।
तीनै मन्त्रीले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्र घुमेका छन्।
रामेछापतर्फको ५१ मिटर बगेको बेलीब्रिज यातायात सञ्चालनका लागि नेपाली सेनाले प्रारम्भिक काम थालेको छ। उनीहरू उक्त काम भइरहेको स्थानमा पनि पुगेका थिए।
बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा तत्काल भइरहेको सडक पूर्वाधारको पुनःनिर्माण, उद्धार र राहतका सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेसहित स्थानीयवासीसँग उनीहरूले कुराकानी पनि गरेका छन्।
मन्त्रीहरु सिन्धुपोल्चोकको चौतारासम्म जाने कार्यक्रम छ।
मन्त्रीहरूले काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र सिन्धुपाल्चोक जिल्लाका बाढीप्रभावित क्षेत्र हेर्ने कार्यक्रम रहेको गृह मन्त्रालयले बताएको छ।
असोज १० देखि १२ गतेसम्म भएको बाढीपहिरामा परी २४६ जनाको मृत्यु भयो भने १८ जना बेपत्ता छन्। १७८ जना घाइते भएकामा ३० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए।
हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको मन्त्रालयको भनाइ छ।


