काभ्रे– आजैबाट पुन: सञ्चालनमा आएको बिपी राजमार्ग फेरि पहिरोका कारण अवरुद्ध भएको छ।
पहिरोले बस र सुमोलाई पुरिदिएको छ भने पुरिएको गाडी निकाल्न गएको डोजर पल्टाइदिएको छ।
रोशी गाउँपालिका–११ पिप्लेमा अचानक सुक्खा पहिरो गएपछि खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना. १ ज. ६८१७ नम्बरको सुमोलाई पुरेको थियो।
यसैगरी सिन्धुलीबाट काठमाडौं तर्फ जाँदै गरेको बा. ४ ख. ४३५२ नम्बरको बसलाई उक्त पहिरोले रोशी खोलामा धकेलिदिएको काभ्रे प्रहरी प्रमुख बसुन्धरा खड्काले बताइन्।
‘पहिरो र बाढीले क्षति पुर्याएको बीपी राजमार्ग आज बिहान ८ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो। तर फेरि सुक्खा पहिरोले अवरुद्ध भयो,’ खड्काले भनिन्।
उनका अनुसार मानवीय क्षति भने हुन पाएन।


