खरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जोडिएको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट एक अर्ब ५० करोड रुपैयाँ ठगी गरेको पाइएको छ। उक्त प्रकरणमा थप अनुसन्धानका लागि रवि शुक्रबार पक्राउ परेका छन्।
जिल्ला अदालत कास्कीको अनुमतिमा प्रहरीले रवि पक्राउ गरेको हो। लामिछानेलाई अनुसन्धानका लागि कास्की ल्याइने नेपाल प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
उक्त सहकारी संस्थाको रु एक अर्ब ५० करोड ९० लाख ३० हजार पाँच सय तीन ठगी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विसं २०७२ देखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो।
रकम अपचलनका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी राई)सँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा सभापति लामिछानेमाथि यसअघि कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो।
सोही मुद्दाका अर्का आरोपी छविलाल जोशी पनि अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन्। सहकारी ठगीका मुख्य आरोपी राई भने अझै फरार छन्।
सूर्यदर्शन सहकारीपीडित सङ्घर्ष समितिले पूरक अनुसन्धान गरिपाउँ भन्दै विसं २०८० माघमा जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका थिए। १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकामा पूर्वसञ्चालक शिवबहादुर गुरुङ, भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामीलगायत पूर्पक्षका लागि थुनामा छन्।
राईसहित उनका दाजु भूपेन्द्र, व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारीलगायत अझै फरार छन्। सहकारीको रकम अपचलन सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले पनि सभापति लामिछानेसहितलाई सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो।
लामिछानेलाई सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धान हुने जनाइएको छ।
लामिछानेमाथि सहकारीको रकम संगठित रूपमा ठगी गरेको भन्दै सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०६४ ले वर्जित गरेको कसुरमा अनुसन्धानका लागि प्रहरीले म्याद माग गर्नेछ।
अदालतमा पेस गरिएपछि सरकारको तर्फबाट सरकारी वकिलहरूले बहस गर्नेछन् भने लामिछानेका वकिलले पनि बहस गर्नेछन्। दुवै पक्षको बहसपछि अदालतले अनुसन्धानका लागि प्रहरीलाई रविलाई हिरासतमा नै राखेर अनुसन्धान गर्न वा हिरासतमा नराखी पनि अनुसन्धान गर्न समय दिन सक्नेछ।
संगठित अपराधमा ६० दिनसम्म थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउँछ। ६० दिन पूरा हुनुअगावै प्रहरीले अनुसन्धान प्रतिवेदनसहित जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा बुझाउनुपर्छ।
रविमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुन सक्ने सम्भावना छ। यो कसुरमा पनि अनुसन्धान हुने हो भने प्रहरीले ९० दिनसम्म रविलाई हिरासतमा नै राख्न अनुमति पाउन सक्नेछ।
अनुसन्धान सकेपछि प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय लगिनेछ। जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गरेर अभियोग दाबीसहित जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गराउनेछ। जिल्ला अदालतमा अभियोगपत्र पेस भएपछि लामिछानेको थुनछेक बहस हुनेछ।
थुनछेक बहसमा वादी र प्रतिवादीको बहस सुनेपछि धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने निर्णय अदालतले लिनेछ।
सहकारी ठगीमा बिगोअनुसार २ देखि १० वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ। त्यसमा संगठित अपराध पनि पुष्टि भए सहकारी ठगीमा हुने अधिकतम सजायको डेढीसम्म सजाय हुनेछ। कुनै कसुरमा संगठित रूपमा अपराध गरेको पुष्टि भए सम्बन्धित कसुरमा हुने सजायको डेढी सजाय हुने कानुनी व्यवस्था छ।
जिल्ला अदालतको फैसला चित्त नबुझे उच्च र सर्वोच्च जाने बाटो दुवै पक्षका लागि खुला रहन्छ।


