काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले पोखरामा पत्रकारमाथि हातपात गरेका छन्। रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा पोखरामा भइरहेको आन्दोलनको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा प्राइम टेलिभिजनका पत्रकार र क्यामेरा पर्सनमाथि रास्वपा कार्यकर्ताले हातपात गरेका छन्।
आइतबार बिहान ११:३० बजेतिर पोखराको सहिद चोकमा अध्यक्ष लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले निषेधित क्षेत्र तोडेका थिए।
जुलुसको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा ‘रास्वपाविरुद्ध समाचार प्रसारण गर्ने यही टेलिभिजन हो’ भन्दै प्रत्यक्ष प्रसारणमा संलग्न पत्रकारद्वय निरज तामाङ, अनिता घिमिरे र क्यामेरा पर्सन अर्जुन भण्डारीमाथि हातपात गर्नुका साथै क्यामेरा तोडफोडको प्रयास भएको जानकारी प्राप्त भएको पत्रकार महासंघका महासचिव रोशन पुरीले जानकारी दिए। रास्वपाको हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाई पत्रकारलाई निर्धक्क र निर्बाध रूपमा सञ्चारकर्ममा जुट्ने वातावरण निर्माण गर्न महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

