काठमाडौँ– नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको तर्फबाट कतार सरकारलाई उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले बताए।
चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती कतारलाई उपलब्ध गराइने भएको छ। बैठकले सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्राकृतिक संरक्षण कोषलाई हस्तान्तरण समेत गरेको छ।
यसअघि कतारका अमिर शेख तमिम बिन हमाद अल–थानी नेपाल भ्रमणमा आउँदा सरकारले एक जोडी हात्ती उपहार दिने बताएको थियो।
वैशाख दोस्रो साता कतारका अमिर अल–थानीको भ्रमण भएको थियो। हात्तीका सुसारे पनि कतार पठाउने तयारी सरकारको छ।


