घोडाघोडी– गत बुधबार बिहान कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनमा पासोमा परेको चितुवा भेटियो। उद्धार टोलीलाई खबर गरिए पनि टोली पुग्न ६ घण्टा लाग्यो। उद्धार भए पनि केही घण्टामै चितुवाको मृत्यु भयो।
विसं २०७८ चैत १७ गते घोडाघोडी नगरपालिका–१० तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवा उद्धार नहुँदै मरेको थियो। यस्तै, विसं २०७६ वैशाख १५ गते घोडाघोडी नगरपालिका–३ नारायणपुरस्थित थाह्रा र मोहन्याल सामुदायिक वनको सिमानामा पासोमा परेको चितुवा भेटिएको थियो। डिभिजन वन कार्यालयसँग उद्धार गर्ने दक्ष जनशक्ति नभएकाले बर्दिया राष्ट्रिय निकुञ्जको टोलीलाई खबर गरियो। टोली आइपुग्न नपाउँदै चितुवा मरेको थियो।
पछिल्लो केही वर्षयता कैलालीमा पासोमा परेर पाटे बाघ र चितुवाहरूको मृत्यु भइरहेको छ।
छ वर्षमा दुई पाटे बाघ र पाँच चितुवाको मृत्यु भइसकेको छ। आर्थिक वर्ष २०७५/७६ मा एउटा चितुवा, २०७८/७९ मा दुई चितुवा र एउटा पाटे बाघ, २०८०/८१ मा एक पाटे बाघ र एक चितुवा मरेका छन् भने चालु वर्षमा एक चितुवाको मृत्यु भएको छ।
कैलालीमा भारतको दुधुवा नेशनल पार्क र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने जैविक मार्ग छन्, जहाँबाट बाघ, चितुवा, हात्ती लगायतका जङ्गली जनावरहरू ओहोरदोहोर गर्छन्। यी मार्गका वरिपरि बाक्लो मानव बस्ती भएकाले मानव-वन्यजन्तु द्वन्द्व बढिरहेको छ।
डिभिजनल वन कार्यालय पहलमानपुरका निमित्त प्रमुख सुरेन्द्र कठायतले भने, “कतिपय जनावर उद्धारको पर्खाइमा नै मर्छन्, र उद्धारपछि पनि बाँच्न सक्दैनन्। यदि हाम्रो ठाउँमै उद्धार टोली भएको भए, समयमा उद्धार गरेर बचाउन सकिन्थ्यो।”
सुदूरपश्चिम प्रदेशमा उद्धार टोली र केन्द्रको आवश्यकता रहेको प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टले बताए।
कैलाली, कञ्चनपुर र पहाडी जिल्लाहरूमा यस्ता समस्या रहेका छन्। प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले भने, “सरकारलाई उद्धार टोलीका लागि नयाँ दरबन्दी र भेटनरी डाक्टरलगायत कर्मचारीको आवश्यकता बारे प्रस्ताव गरेका छौँ। स्वीकृति पाएपछि अगाडि बढ्नेछौँ।”


