काठमाडौँ– सोमबार काठमाडौंको सितापाइलास्थित सेरेस सर्भिस सेन्टरको पार्किङमा राखिएको सेरेस थ्री ईभीमा भएको आगजनी प्रकरणमा कम्पनीले स्पष्टीकरण दिएको छ।
एक विज्ञप्ति जारी गर्दै कम्पनीले उक्त कार अनधिकृत सर्भिस सेन्टरमा मर्मत सम्भार गरिएकाले प्राविधिक खराबी उत्पन्न भई आगलागी भएको हुनसक्ने प्रारम्भिक निष्कर्ष निकालेको छ।
‘गाडीमा देखिने नियमित प्राविधिक समस्या अन्त समाधान नभएपछि सेरेसको सर्भिस सेन्टरमा ल्याइएको उक्त कारमा शर्ट सर्किट भएर धुवाँ डिस्चार्ज भएको थियो। विगतमा अनधिकृत सर्भिस सेन्टरहरू मार्फत् मर्मत सम्भार गरिएको हुनसक्ने र त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
यस घटनामा गाडीको ब्याट्री र मोटर दुवैमा क्षति नभएको पनि कम्पनीको दाबी छ। प्रारम्भिक निष्कर्षमा उल्लेखित कारण देखिएपनि यस प्रकरणबारे थप अनुसन्धान भइरहेको कम्पनीका एक प्रतिनिधिले जानकारी दिए।
सम्पूर्ण अनुसान्धान सकिएपछि घटनाबारे थप जानकारी सार्वजनिक गरिने र सवारीधनीलाई क्षतिपूर्ति लगायतका विषयमा निर्णय लिइने उनले बताए।
यसका साथै विद्युतीय सवारी साधनहरू धेरै किसिमका सुरक्षा सुविधाहरूले सुसज्जित हुने दाबी गर्दै कम्पनीले आफ्ना ग्राहकहरूलाई तोकिएको सर्भिस सेन्टरमार्फत् मात्र मर्मत कार्य गराउन अनुरोध गरेको छ।


