काठमाडौँ- भारतको नयाँदिल्लीबाट काठमाडौँ आएको भिस्तारा एयरलाइन्सको विमानमा बम नभएको पुष्टि भएको छ।
मंगलबार साँझ नेपाली सेनासहितका सुरक्षाकर्मीका टोलीले जाँच गरेपछि बम नभएको पुष्टि भएको हो।
‘भिस्ताराको जहाजमा केही पनि भेटिएन,’ त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले भने।
मंगलबार अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेको विस्तारा एयरलाइन्सको विमानमा बम भएको हल्लापछि सुरक्षाकर्मीले विमान र यात्रुका लगेज जाँच गरेको थियो।
अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आईकाओ) को नियमानुसार यस्तो अवस्थामा कम्तीमा ६ घण्टासम्म सर्च गर्नुपर्ने हुन्छ।
विमानमा १४७ जना यात्रु र १० जना क्रू मेम्बर (विमानका कर्मचारी) लिएर विस्तारको जहाज काठमाडौँ आएको थियो।
विमानमा बम राखेको हल्ला भएपछि विमानस्थलको सेवा केही समयका लागि प्रभावित भएको थियो। अहिले विमास्थलको अवस्था सामान्यतर्फ फर्किएको छ।


