बुटवल- रूपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १२ जनालाई पक्राउ गर्ने अनुमति दिएको छ। बिहीबार अदालतले लामिछानेसहितका १२ जनालाई पक्रन अनुमति दिएको हो।
जिल्ला न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले उनीहरूलाई पक्राउ गर्ने अनुमति दिएको हो।
संगठित रूपमा बुटवलस्थित सुप्रिम सहकारीको बचत रकम अपचलन गरेको आरोप रविमाथि छ। यो मुद्दामा रविका साझेदार पूर्वडीआईजी छविलाल जोशीलाई पनि पक्रन अदालतले अनुमति दिएको छ।
बुटवलको सुप्रिम सहकारीबाट जोशीको नाममा २ करोड ५० लाख र लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष समेत रहेका जोशीसँग गत सोमबार र मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीले बयान लिएको थियो।
लामिछाने र जोशी यतिबेला कास्की प्रहरीको हिरासतमा छन्। उनीहरूलाई थप ७ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ।
सहकारीका अध्यक्ष जीबी राई भने यतिबेला फरार छन्।


