काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले हतियार चलाउन जानेको भनेर धम्की नदिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्। आफूहरूले हतियार नचलाउने तर बिसाउन लगाउन भने जानेको ओलीको प्रत्युत्तर छ।
‘एक जना उफ्रिउफ्रीकन भाषण गर्दै थिए हिजो मात्रै देख्या थिएँ। हतियार बिसाएको मात्रै हो, भ्रम नरहोस्। चलाउन बिर्स्या छैन। तेस्तै तेस्तै त हामी हुन भएन नि। धम्क्याएका भरमा खाने! हामी चलाउन त चलाउँदैनौँ,’ गैरआवासीय नेपालीहरूको वार्षिक साधारणसभालाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हतियार कसरी बिसाउन लगाउनु पर्छ भनेर पनि नभनौँ। हामी चलाउन त चलाउँदैनौँ। हामी बिसाउन चै लगाउन जान्या छौँ।’
प्रधानमन्त्रीले माओवादीले अझै धम्क्याएको भरमा खाने गरेको आरोप लगाए। ‘फेरि हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्ने हामीलाई थाहा छ। हामी चलाउन त चलाउँदैनौँ तर बिसाउन लगाउन जानेको छ हामीले’, प्रधानमन्त्री ओलीको भनाइ छ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार आयोजित खबरदारी सभामा आफूहरुले हतियार बिसाएको तर चलाउन नबिर्सेको भन्दै सरकारको नेतृत्व गर्ने दलहरुलाई चेतावनी दिएका थिए।
प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताए। ‘नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन्। अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन। मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ,’ उनको भनाइ छ।
आफू सन् १९९९ तिर मा मस्को जाँदा डा उमेन्द्र लामिछानेसँग गैह्रआवासीय नेपाली अभियानबारे कुरा भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधान दिन सरकारले कञ्जुस्याईँ नगर्ने पनि स्पष्ट गरे।


