काठमाडौँ- शनिबार एकै दिन ६ वटा पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
लक्ष्मीपूजा बिहीबार भएपछि शुक्रबार कुनै पर्व नपरेपनि शनिबार कम्तीमा ६ पर्व परेको समितिले जानकारी दिएको हो।
कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजाका दिन ६ पर्व परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए।
तिथिका आधारमा शुक्रबार कुनै पर्व नपरे पनि शनिबार धेरै पर्व एकै दिन परेको उनले सुनाए। तिथिमा घटबढ हुँदा यस्तो हुन गएको हो। तिथिकै घटबढका कारण ५ दिने तिहार यस वर्ष ६ दिनसम्म लम्बिएको छ।
औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेकाले आज गाईपूजा गर्न पर्ने धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए।
गाईलाई गौमाताका रूपमा सम्मान गरिने भएकाले वर्षका तीन सय ६५ दिन नै गाई पूजा गर्न पनि सकिन्छ। तर तिहारका अवसरमा गरिने गाई पूजा भने शनिबार नै गर्नुपर्ने उनको भनाइ छ। यसैले गाईतिहार पनि शनिबार नै मनाइन्छ।
कात्तिक १७ गते शनिबार भने गाईगोरु पूजा, गोवद्र्धनपूजा, बलिपूजा, हलीतिहार, म्ह (आत्म) पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि गरी ६ वटा पर्व एकै दिन परेको समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रोमा उल्लेख गरिनुका साथै समितिले तिहारको अवसरमा जारी गरेको विज्ञप्तिमा पनि प्रष्ट रूपमा लेखिएको छ।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मपूजा पनि आजै परेको छ। आत्मालाई महत्वपूर्ण भएकाले यसको पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्। आत्मसन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ।
यही शास्त्रीय मान्यता र विश्वासका आधारमा आत्म (म्हः) पूजा गर्ने परम्परा बसेको हो। यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा मनाउने गरिएको छ।
नेपाल संवत सुरु भएको अवसरमा सम्मानीयहरूले शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिर र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतले शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले म्हः पूजा नेवार समुदायको मौलिक र महत्वर्पूण पर्व भएको बताएका छन्। नेपाल संवत्को नयाँ वर्ष तथा म्हः पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उनले भनेका छन्, ‘नेपाल संवतको नयाँ वर्ष, नेपाल संवत् ११४५ को आज पहिलो दिन, यसका सुरुआतकर्ता विभूति शङ्खधर साख्वाप्रति हार्दिक सम्मान, आज नेवार समुदायमा म्हः पूजा गरिन्छ, यसले आफूप्रति गौरवबोध बढाउँछ, नेपाल संवत् ११४५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सबैलाई शुभकामना।’
सभामुख घिमिरेले जारी गरेको शुभकामना सन्देशमा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नेपाल संवत् ११४५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।
राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी सुरु गरेको नेपाल संवतलाई नेपालको मौलिक संवतका रूपमा लिइन्छ। नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालमा सरकारले शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो।


