काठमाडौँ- पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मंगलबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ।
कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई हिरासतमा राख्न तेस्रो पटक म्याद थप गर्नका लागि अनुमति माग्दै कास्की अदालतमा पेस गर्न लागिएको हो।
कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट दोस्रो पटक पाएको म्याद कात्तिक १४ गते नै सकिएको थियो। यसबीचमा तिहार बिदा परेका कारण उनलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो।
म्याद थपका विषयमा मंगलबार पनि अदालतमा बहस हुनेछ। बहस सकिएपछि म्याद थप गर्ने वा नगर्ने भन्ने टुंगो लाग्नेछ।
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई सहकारीको रकम अपचलन र संगठित अपराधको मुद्दा छ।
प्रहरीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा एक साथ अनुसन्धान गरिरहेको छ।
कात्तिक ४ गते जिल्ला अदालत कास्की पेस गरिएका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो।
त्यसपछि ७ दिनको म्याद थपिएकोमा तिहार बिदाले अदालत बन्द भएपछि मंगलबार अदालतमा उपस्थित गराइँदै छ।
प्रहरीले लामिछानेको सरकारी वकिलको रोहबरमा बयान लिइरहेको छ। उनलाई आज म्याद थपका लागि तेस्रो पटक अदालत उपस्थित गराइँदै छ।
उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि अनुसन्धानका लागि उपस्थित गराइदिन पत्राचार गरेकाले म्याद थपपछि पठाउने कास्की प्रहरीको तयारी छ।
लामिछानेविरुद्ध रुपन्देहीमा पनि पूरक जोहेरी परेको र पक्राउ पुर्जी पनि जारी भइसकेकाले बयानका लागि उनलाई बुटवल लैजाने सम्भावना पनि रहेको छ।
रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार पूर्वडिआइजी छविलाल जोशीलाई पनि आज अदालतमा पेस गरिनेछ।
उनी गएको असोज ६ गते पक्राउ परेका थिए।


